बादर आतंकले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा मकैबाली लगाउने क्षेत्रफल घटेको छ । जिल्लामा केहीवर्षदेखि मकैबाली लगाउने क्षेत्रफल घट्दै गएकोे कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । बैतडीमा जंगली जनावरको प्रकोपका कारण मकैबाली उत्पादन हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्ण बहादुर चन्दले जानकारी दिनुभयो । बैतडीमा हाल १२ हजार २ सय हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । उहाँले भन्नुभयो“ केही बर्षअघिसम्म १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती हुदै आएको भएपनि जंगली जनावरका कारण किसानले मकैबाली लगाउन छोडेका छन्”

बादर र बदेलले बर्षेनी मकैबालीमा क्षती गर्ने भएकोले मकैबालीतर्फ किसानको आकर्षण घट्दै गएको छ । जंगली जनावरका साथै पहाडवाट तराइमा बसाइसराइका कारणले पनि मकै उत्पादन हुने क्षेत्रफल कम भएको निमित्त प्रमुख चन्दको भनाई रहेको छ । गत बर्ष बैतडीमा १९ हजार ७६४ मेट्रिक टन मकै उत्पादन भएको थियो ।

जंगली बदेलले मकैबाली नष्ट
बैतडीका विभिन्न ठाउँमा किसानहरुले लगाएको मकैबाली जंगली बदेलले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । मकैबाली भित्र्याउने समयमा जंगली बदेलले मकैबाली नष्ट गर्दा भोकमरीको सम्भावाना बढेको सुर्नया ६ का केशवदत्त अवस्थीले बताउनुभयो ।
खेतमा लगाएको मकैबाली जोगाउन रातभर पहरा दिने गरिएको भएपनि बथानमा आउने जंगल ीबदेलले मकैबाली नष्ट गर्ने गरेको उहाँले बताउनुभयो ।

जिल्लाको पुरचौंडी क्षेत्रका विभिन्न स्थानमा पनि जंगली जनावरहरुले मकैबाली नष्ट गर्दा किसानहरु मार्कामा परेका छन् । बदेल, दुम्सी, भालु लगायतका जंगली जनावरहरुले मकैबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । यस्तै पाटन नगरपालिका वडा नं ७ का विभिन्न स्थानमा पनि जंगली बदेलले मकैबाली नष्ट गरेको स्थानीय रामीराम विकले जानकारी दिनुभयो । मकै बचाउन टहरा बनाएर किसानहरुले पहरा दिने गरेको समेत उहाँले बताउनुभयो । जंगली बदेलले मकैबाली मात्र नभएर फलफूलका नर्सरीमा समेत क्षति पुर्याएको दशरथचन्द नगरपालिका १ का किसान बीरबहादुर टेरले बताउनुभयो ।यस्तै दोगडाकेदारका विभिन्न स्थानमा पनि बदेलले मकैबालीमा क्षती पुर्याएको स्थानीय प्रकाश चन्दले जानकारी दिनुभयो ।

बैतडीमा मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली पछिल्लो समयमा जंगली जनावरहरुले नष्ट गर्दै जाँदा उत्पादनमा कमी आउने गरेको छ । मकैबालीमा विभिन्न कारणले क्षति पुग्ने गरेको भएपनि किसानहरुले भने क्षतिपूर्ती पाउने गरेका छैनन् । बालीबीमा नगरेका कारण किसानहरुले क्षतिपूर्ती पाउन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्