हसन्टारमा मेयर कप फुटबल हुँदै



काठमाडौं, नेपाल समाचारपत्र।हसन्टार युथ क्लबको आयोजनामा प्रथम मेयर कप फुटबल प्रतियोगिता कात्तिक १ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा २० टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष विश्वकर लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

पहिलो हुने टिमले १ लाख ५ हजार तथा दोश्रोले ५५ हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समान १० हजार नगद पुरस्कार प्रदान गरिने छ। अनुशासित टिमलाई १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ।

प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख ५९ हजार खर्च हुने बताइएको छ। त्यसमा नागर्जुन नगरपालिकाले ५० प्रतिशत खर्च ब्यहोर्ने र बाँकी रकम नागर्जुन नगरपालिका वडा नं. ७ र आयोजकले व्यवस्थापन गर्ने अध्यक्ष लामाले जानकारी दिए।

पत्रकार सम्मेलनमा नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले खेलकुदको विकास र विस्तारका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू नागर्जुन नगरपालिकास्थित हसन्टार फुटबल मैदानमा खेलाइने छ। फाइनल कात्तिक ९ गते हुने छ।

प्रतिक्रिया दिनुहोस्