१५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमित



नेपाल समाचारपत्र, पर्वत।उत्तरी पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमिन व्यक्तिले भोगचलन गरेको पाइएको छ। गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २ सय ८२ रोपनी जग्गा अतिक्रमणमा परेको तथ्य फेला परेको हो।

अतिक्रमण गरिएको सार्वजनिक जग्गा अधिकांस मालढुंगा बेनी सडक किनार र कालीगण्डकी किनारको उब्जाउ जग्गा रहेको पाइएको छ। सार्वजनिक तथा गुठीका जग्गाहरू दुरुपयोग भइरहेको गुनासो आउन थालेपछि जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गर्न थालिएको गाउँपालिकाले जनाएको छ।

वडा नम्बर ४ का अध्यक्ष तथा गाउँपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भिष्म मल्लको संयोजकत्वमा सम्बन्धित वडाका वडा अध्यक्ष पदेन सदस्य हुने र सदस्य सचिव सामाजिक विकास अधिकृत लीलाधर सुवेदी रहने गरी समिति गठन गरेर जग्गाको खोजीमा जुटेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो।

समितिले पहिलो चरणमा गाउँपालिकाको ३, ४, ७, र ८ गरी जम्मा ४ वटा वडाको बेनी मालढुंगा सडकखण्ड आसपास सार्वजनिक जग्गाको पहिचान गर्ने कार्य सम्पन्न गरिसकेको छ। यी वडाहरूमा सरकारी जग्गा ३ सय ८८ वटा कित्ता रहेको र क्षेत्रफल १५ हजार २ सय ८२ रोपनी रहेको तथा उक्त जग्गामा हालसम्म व्यक्तिले आवासका लागि पक्की घर निर्माण गर्नुका साथै खेतीबाली लगाई उपयोग गर्दै आएको भेटिएको संयोजक भिष्म मल्लले जानकारी दिनुभयो।

अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्ने र त्यस्ता जग्गालाई गाउँपालिकाको मातहत ल्याउनका लागि गाउँपालिकाले अभियान थालेको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो।

दोस्रो अभियानअन्तर्गत जग्गालाई कानुनबमोजिम करको दायरामा ल्याई सरकारी जग्गाको संरक्षण गर्ने सोचअनुरुप यही भाद्र महिनादेखि समिति सदस्यहरू अभियानका रुपमा गाउँपालिकाका सबै वडाहरूमा जाने गाउँपालिकाका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले जानकारी दिनुभयो।

सार्वजनिक जग्गा व्यक्तिले अबैध रुपमा प्रयोग गर्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सक्रियता देखाएको हो। यसमा स्थानीय जनप्रतिनिधिसमेत सक्रिय रुपमा लागेका छन्। पालिकाले सबै सार्वजनिक वा सरकारी जग्गालाई एकत्रित गरेर उपभोगका लागि नयाँ नीति लागू गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्