द्रुत विषादी परीक्षण प्रयोगशाला स्थापना



काभ्रे, (नेस)।कृषि ज्ञान केन्द्र धुलिखेलमा प्रदेश सरकारको सहयोगमा द्रुत विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। प्रदेश कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले एक कार्यक्रमका बीच प्रयोगशाला उद्घाटन गरी विषादीको अवस्थाका बारेमा छलफल गर्नुभएको छ।

उक्त अवसरमा काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०७३–२०७४ मा ७२.५ मेट्रिक टन रासायनिक विषादी खपत भएको कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख डा. जनार्दन खड्काले जानकारी दिनुभयो। कृषि उपजहरूको अवशेष परीक्षण गरी खानयोग्य र अयोग्य उत्पादन छुट्टयाएर उपभोग गर्न जनचेतना फैलाउने र कषि उपज परीक्षणपछि मात्रै प्रयोग गर्न द्रुत विषादी अवशेष परीक्षण शुरू गरिएको हो।

यो प्रयोगशालाको प्रविधि पहिलो पटक ताइवानबाट शुरू भएको हो। छोटो समयमा चुस्त तरिकाले कृषि उपजमा भएको विषादीको अवशेष मापन गर्न सक्नु नै यो प्रविधिको विशेषता हो। प्रयोगशाला स्थापना भएपछि व्यवसायिक उत्पादन हुने स्थानबाट तरकारीका नमुना संकलन गरेर अवशेष मापन गरी कृषकलाई सुरक्षित उत्पादन गर्न प्रोत्साहन दिने लक्ष्य रहेको ज्ञान केन्द्र प्रमुख खड्काले बताउनुभयो।

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लालगायत जिल्लामा उत्पादित कृषि उपजमा विषादीको मात्रा र प्रयोग अवधिबारे जनचेतना फैलाई मानव स्वास्थ्य, पशु स्वास्थ्य र पर्यावरणमा क्रमश सुधार आउने अपेक्षा गरिएको सचिव डा. योगेन्द्रकुमार कार्कीले बताउनुभयो।

जिल्लाको पनौती, बनेपा, धुलिखेल, पाँचखाल, मण्डन देउपुर, नमोबुद्ध, रोशी र बेथान्चोक गाउँपालिकामा व्यावसायिक तरकारी खेती शुरू गरिएको छ भने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकामा आधुनिक र व्यवसायिक खेती शुरू गरिएको छ। उक्त खेतीलाई फार्म हाउसका रूपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले कृषिमा विशेष कार्यक्रम शुरू गरेको सचिव कार्कीले बताउनुभयो।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा १० वटा ठूला फार्म स्थापना गर्नेगरी प्रति फार्म १ करोड बजेट विनियोजन गरेको छ। ४ सय रोपनी क्षेत्रफलमा हेलिप्याडसहितको फार्म स्थापना गरी आधुनिक र व्यवसायिक खेती एकै स्थानबाट धेरै उत्पादन गर्न सकिने गरी लगानी गर्न लागिएको हो। काभ्रे र सिन्धुपाल्चोकमा मात्रै तीनवटा फार्म स्थापना गरिने सचिव कार्कीले सो अवसरमा बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्