बच्चासहित महिला बेपत्ता



नेपाल समाचारपत्र, बैतडी।बैतडीको शिवनाथ गाउँपालिकाकी एक महिला २ वर्षको बच्चासहित १ हप्तादेखि सम्पर्कविहीन भएकी छन्। शिवनाथ गाउँपालिका–२ खालका शुक्रसिंह साउदकी २९ वर्षीया श्रीमती सुनकेसरी साउद सम्पर्कविहीन हुनु्भएको हो।

सुनकेसरी यही साउन १२ गते बिहान ६ बजे घरबाटै एक्कासि सम्पर्कविहीन हुनुभएको हो। सम्पर्कविहीन भएकी महिलाको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको सम्पर्कविहीन महिलाका भान्जा सम्भु सिंह विष्टले जानकारी दिनुभयो।
आफ्नी श्रीमतीकोे घरपरिवारसँग र आफूसंगको व्यवहार राम्रै रहेको भए पनि एक्कासी सम्पर्कविहीन हुँदा साह्रै चिन्ता लागेको सम्पर्कविहीन महिलाका श्रीमान शुक्रसिंह साउदले बताउनुभयो।

बेलुकासंगै सुतेका र सधैंजसो बिहानै उठेर घरको काम गर्ने हिँडेकी र केही घण्टापछि पनि घरमा नदेखेपछि सम्पर्कविहीन भएको थाहा पाएको उहाँले बताउनुभयो। छिमेकी, आफन्त र माइतीमा पनि खबर भइसकेको बताइएको छ। शुक्रसिंह साउद र सम्पर्कविहीन महिला सुनकेसरीको विसं. २०७१ सालमा मागी विवाह भएको थियो।

यता प्रहरीले सम्पर्कविहीन महिलाको खोजी कार्य जारी रहेको जनाएको छ। स्थानीय प्रहरी चौकी र सीमा प्रहरीचौकीमा हुलियासहित खबर गरी खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्