उपाकु मार्ग खोल्न सहमति



काठमाडौं, (नेस)।धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ। बुधबार बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो।

सोही समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण शुरू भइसकेको छ। उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा रहनेछ। उपाकु हिंड्ने मानिस तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन्।

काठमाडौं महानगरपालिका २२ का अध्यक्ष चिनीकाजी महर्जनले उपाकु मार्ग खोल्ने सहमति भएको जानकारी दिनुभयो। धरहरा क्षेत्र यही वडामा पर्छ।

परम्परागतरूपमा जहाँबाट हिँड्ने गरिको हो, हाललाई त्यहाँ अस्थायी मार्ग बनाउने सहमति भएको छ उहाँले भन्नुभयो।
धरहरा पुनर्निर्माण कार्य हेरिरहनु भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ विज्ञ राजुमान मानन्धरले भदौ २१ गतेसम्म अस्थायी मार्ग तयार हुने जानकारी दिनुभयो।

उपाकु मार्गका लागि पुरानो धरहरा र नयाँ बनिरहेको धरहराका बीचमा करिब १० फिट बाटो छाडेका छौं। यस वर्षका लागि यहाँ अस्थायी मार्ग बनाइनेछ र पछि यहीँ स्थायी उपाकु हिँड्ने बाटो हुनेछ।

उपाकु हिँड्ने मानिसहरू बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिँड्न मिल्ने बनाउने सहमति भएको पनि उहाँले जानकारी दिनुभयो।

नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्दिन हल द्वादशीका ातमा दियो बालेर उपाकु हिँड्ने चलन छ। यस वर्ष भदौ २४ गते उपाकु परेको छ।

त्यसैगरी, खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कनका लागि अस्थायी पैदल मार्ग खोल्ने कार्य पनि अघि बढेको छ। सञ्चय कोष र साविकको गोश्वार हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ। पछि यहाँ स्थायी सडक बन्नेछ।

प्रतिक्रिया दिनुहोस्