आईओएमको ताला खोल्न सिंगापुरबाट प्रमको निर्देशन



काठमाडौं, (नेस)। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को प्रवेश परीक्षामा अवरोध आउन नदिन सिंगापुरबाटै मंगलबार निर्देशन दिनुभयो र बुधबार ताला खुल्यो।

प्रवेश परीक्षा हुन नदिने योजनासाथ विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीका नाममा संघर्षसमिति गठन गरेर आईओएममा तालाबन्दी जारी रहेको अवस्थामा प्रधानमन्त्रीको यस्तो निर्देशन आएको हो। प्रधानमन्त्रीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीले परीक्षा गराउने गरी तयारी शुरु गर्नुभएको बुझिएको छ।

सिंगापुरमा मृगौलाको उपचाररत प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्सबाटै मंगलबारको मन्त्रीपरिषद् बैठकमा चिकित्साशिक्षाका प्रवेश परीक्षा कुनै हालतमा नरोक्न निर्देशन दिनुभएको थियो। सोही आधारमा प्रहरीले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को परीक्षा शाखामा लगाएको ताला बुधबार बिहानै खोलेको छ।

आईओएमको यही भाद्र २१ गतेबाट चरणबद्ध रूपमा शुरु हुने विभिन्न विषयका परीक्षाका लागि करिब २० हजारले आवेदन दिइसकेका छन्। विदेशी विद्यार्थीको हकमा समेत चीन, भारत, अमेरिकालगायतका देशबाट समेत विद्यार्थीहरूले आवेदन दिएका छन्। २१ गतेदेखि चरणबद्ध रूपमा २४ गतेसम्म परीक्षा हुँदै छ।

 

प्रतिक्रिया दिनुहोस्