पुरानो र नयाँ धरहराको बीचबाट उपाकु मार्ग खाेलिने



तस्बिरः पुरानो धरहराको ठुटो रहेको स्थान र नयाँ निर्माणाधीन धरहराको बीचमा अस्थायी पदमार्ग निर्माण गरिंदै

न्युज अफ नेपाल, काठमाडौं । धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ । बुधबार
बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो । सोही समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण सुरु भइसकेको छ ।

उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा रहनेछ । उपाकु हिंड्ने मानिसहरु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् । काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकु मार्ग खोल्ने सहमति भएको जानकारी दिनुभयो । धरहरा क्षेत्र यही वडामा पर्छ । “परम्परागत रुपमा जहाँबाट हिंड्ने गरिको हो, हाललाई त्यहाँ अस्थायी मार्ग बनाउने सहमति भएको छ” उहाँले भन्नुभयो ।

धरहरा पुनर्निर्माण कार्य हेरिरहनु भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका बरिष्ठ विज्ञ राजुमान मानन्धरले भदौ २१ गतेसम्म अस्थायी मार्ग तयार हुने जानकारी दिनुभयो । “उपाकु मार्गका लागि पुरानो धरहरा र नयाँ बनिरहेको धरहराका बीचमा करिब १० फिट बाटो छाडेका छौं । यस वर्षका लागि यहाँ अस्थायी मार्ग बनाइनेछ र पछि यहीँ स्थायी उपाकु हिँड्ने बाटो हुनेछ ।”

उपाकु हिंड्ने मानिसहरू बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिंड्न मिल्ने बनाउने सहमति भएको पनि उहाँले जानकारी दिनुभयो । नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिंड्ने चलन छ । यस वर्ष भदौ २४ गते उपाकु परेको छ ।

त्यसैगरी, खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कनका लागि अस्थायी पैदल मार्ग खोल्ने कार्य पनि अघि बढेको छ । सञ्चय कोष र साविकको गोश्वार हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ । पछि यहाँ स्थायी सडक बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्