एनओसी निर्वाचन रोक्न अन्तरिम आदेश



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनको मिति हुन तीन दिन बाँकी रहँदा सर्वोच्च अदालतले निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको छ। भदौ २० गतेका लागि तय भएको निर्वाचनलाई रोक्न मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।

२०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा गरेको रिट दायर गरेअनुसार नै सर्वोच्चले उक्त आदेश दिएको हो।

रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको हो।चित्रकारले सरोकारवाला १२ जना व्यक्ति तथा संस्थालाई विपक्षी बनाउँदै आइतबार मुद्दा दायर गरेका थिए। न्यायाधीश मोक्तानले रिट निवेदनको गाम्भिर्यता हेर्दा दुवै पक्ष राखेर छलफल गरी उचित निष्कर्षमा पुग्नु जरुरी भएकाले भदौ २२ गतेको पेशी तोकिएका छन्।

अदालतले सबै विपक्षीका नाममा एनओसी निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेको हो। यस विषयमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने आफूलाई आधिकारिक रुपमा कुनै जानकारी नै नभएको बताएका छन्। चार वर्षअघि पनि अदालतमा रिट दायरका कारण एनओसीको निर्वाचन तोकिएको मितिभन्दा एक महिना सरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्