आफ्नै आङको जुम्रा देख्ने कि ?



पत्रकारभन्दा बढी पत्रुकार बन्नेहरूको जमात बढिरहेका बेला पत्रकारलाई लगाम लगाउने कुरोले बजार पिट्या छ। पत्रकारितालाई कला, सीपसहितको व्यवसाय पनि भनिन्छ। तर सार्वजनिकभन्दा व्यक्तिगत व्यवसायमा छलाङ मार्ने पत्रुकारले सच्चा र इमानदार पत्रकारलाई सोझै ओझेल पारिराख्या छन्।

अरू सबै खत्तम आफू मात्रै ‘असली’ दाबी गर्ने पत्रुकारको झुण्ड बढिराख्या बेला संसद्मै पत्रकारलाई लगाम लगाउने कुरो उठ्या छ। पत्रकारिता गर्न स्नातकसम्मको शैक्षिक योग्यतासहित अनिवार्य लाइसेन्स उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न राष्ट्रिय सभाका सांसदले माग गरेका हुन्। एक पत्रकार एक अनलाइनको खहरे चलिराख्या बेला शैक्षिक योग्यताको प्रसङ उठाउने संसद्को कुरो सोह्रै आना ठीक हो।

पत्रकारिताका कखरा बताउन अइँअइँ पर्ने, कनिकुथी कक्षा १२ उत्तीर्ण गर्या, केही त १२ मा पनि नचढ्याहरू धमाधम अनेक थरी डटकमवाला अनलाइनका सम्पादक हुन थालेसी पत्रुकारिता मौलाउने नै भो। लगाम कसिलो गर्ने हो भने पत्रकारिता अझ विश्वसनीय हुन्छ, गुणस्तरमा कुनै शंका रहन्न। त्यस्तै चुरो कुरो बुझेर होला संसद्मा कुरो उठ्या छ।

संसद्मा पत्रकारको योग्यताको कुरो उठिराख्या बेला सांसद, नेता अनि मन्त्री बन्नका लागि शैक्षिक योग्यताको बहस पनि चल्छ कि ? नीति निर्माण तहमा रहने सांसद अनि मन्त्रीहरूको शैक्षिक योग्यता अच्छा भए मुलुकले छिट्टै आर्थिक छलाङ माथ्र्यो कि ? आफ्नो आङमा जुम्रा नदेख्ने अरूको आङमा भैंसी भनेजस्तो चाहिँ नहोस् है !

प्रतिक्रिया दिनुहोस्