सहकारी पीडित सडकमा



नेपाल समाचारपत्र,बाँके।करोडौ रुपियाँ हिनामिना भएको सहकारी वित्तीय विकास संस्थाका बचतकर्ताले नेपालगन्जमा प्रदर्शन गरेका छन्।बचतकर्ताले गठन गरेको संघर्ष समितिको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, बाँके अगाडि प्रदर्शन गर्दै केही घण्टा चक्काजाम समेत गरेका थिए।

संघर्ष समितिले प्रदर्शनसँगै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएको छ।सहकारीको कार्यालय जिल्ला प्रशासन कार्यालय परिसरसँगै जोडिएको छ। सञ्चालक समितिका केही पदाधिकारीलाई प्रहरीले पक्राउ गरेर थुनेको र केही फरार रहेपछि सहकारी बन्दै रहदै आएको छ। सहकारी कार्यालय अगाडि नै जम्मा भएका बचतकर्ता प्रदर्शन र नाराबाजी गर्दैै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा पुगेका थिए।

त्यहाँ अगाडि सडकमा लाइन लागेर उनीहरूले दिउँसो चक्काजाम गरेका थिए।४० करोड बढीको हिनामिना भएको पाइएपछि प्रहरीले सहकारीका ६ जना कर्मचारीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। अध्यक्ष हरदेवबक्स चौधरीलगायतका अरू सञ्चालकहरू सम्पर्कविहीन रहेका छन्। एघार हजार ४ सय आठ जना निक्षेपकर्ता रहेको सहकारीको नेपालगञ्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो।

प्रहरीले बचतकर्ताहरूलाई आफूसँग भएको प्रमाण लिएर सम्पर्कमा आउन सार्वजनिक आव्हान गरिसकेको छ।संघर्ष समितिका सहसंयोजक आशुतोषकुमार शुक्लाले बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउनका लागि दबाब बढाएको बताउनुभयो। बाँके प्रहरीले अरूणकुमार पाठक, गंगाधुर सुवेदी, गोपाल भण्डारी, स्थिरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादवलाई पक्राउ गरेको छ। अरू सञ्चालकको खोजी गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्