भूतपूर्व गोरखा सैनिकद्धारा आमरण अनसनको चेतावनी,माग पूरा गर्न बेलायत सरकारलाई २४ अक्टुबरको अल्टिमेटम्



काठमाडौं । बेलायती नागरिक सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राख्दै वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । असमान व्यवहार हटाउन बेलायत सरकारलाई बारम्बार गरेको आग्रह सुनुवाइ नभएको भन्दै भोक हडतालमा उत्रिने चेतावनी दिएका हुन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार, उनीहरूले बेलायती सरकारलाई माग पूरा गर्न आउँदो २४ अक्टुबरसम्मको समयसीमा दिएका छन् । उक्त समयसीमाभित्र पर्खने र त्यतिबेलासम्म पनि बेलायत सरकारले मागबारे सुनुवाइ नगरे भोकहड्तालमा उत्रिने उनीहरूको चेतावनी दिएका हुन् ।

बेलायती सरकारविरुद्ध संघर्ष गर्दै आइरहेको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञानराज राईले आफूहरूको चाहना संघर्ष नभएर वार्ता भएको बताएका छन् । एक अन्तराष्ट्रिय समाचार एजेन्सी सँग कुरा गर्दै उनले आफूहरूले नेपाल र बेलायती सरकारले वार्तामार्फत समाधान खोजोस् भन्ने चाहेको बताएका छन् ।

‘नेपाल र बेलायतका दुवै सरकार हाम्रा मागबारे छलफल गरेर निष्कर्षमा पुगुन् भन्ने हाम्रो चाहना छ’, राईले बेलायत सरकारलाई चुनौती दिँदै उक्त अन्तर्वातामा भनेका छन् । संवादमार्फत समाधान गर्न दुई सरकारले उदासीनता देखाए सास रहेसम्म हडताल गर्ने चेतावनी समेत उनले दिए ।

बेलायती सेनामा भर्ती हुने बेलायती र नेपालीबीच विभेदको गहिरो खाडल रहेको भन्दै भूतपूर्व बेलायती गोरखा सैनिकहरू रुष्ट छन् । उनीहरूले बेलायत सरकारको असमान व्यवहारविरुद्ध संघर्ष गर्दै आइरहेका छन् । यसअघिका दबावहरूले आफ्ना माग सुनुवाइ नभएपछि पछिल्लोपटक उनीहरूले भोक हड्तालको चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्