बैंकिङ प्रणाली ह्याक प्रकरण:थप चिनियाँसहित मनि एक्सचेन्ज सञ्चालक पनि समातिए



नेपाल समाचारपत्र, काठमाडौं।बैंकिङ प्रणाली ह्याक गरी एटीएमबाट पैसा चोरी गर्ने चिनियाँ ह्याकर गिरोहका थप पाँच जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल क्षेत्रबाट चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले आइतबार राति सु लुसिङ नाम गरेका एक चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको छ।

माया मनोहर होटलको सीसीटीभी फुटेजका आधारमा उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो।उता प्रहरीले ठमेलमा रहेको डेस्को मनि चेन्जरका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एकसचेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडीलाई नियन्त्रणमा लिएको जनाएको छ। शनिबार माया मनोहर होटेलबाट फरार भएका व्यक्तिले मनि एक्सचेन्जमा पुगेर नेपाली पैसा दिएर २५ हजार ८ सय ३२ डलर साटेका थिए।

पक्राउ परेका मनि एक्सचेन्जकन सञ्चालकहरूको साथबाट २९ लाख ९९ हजार रुपियाँ पनि बरामद गरेको छ। गैरकानुनी रुपमा डलर साटेको देखिएपछि अनुसन्धानको लागि उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो।

प्रहरीले शनिबार ह्याकर समूहका पाँच जनालाई सो होटलबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरूको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपियाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ। प्रहरीका अनुसार एटीएमबाट रकम चोरी गर्ने चिनियाँ र उनीहरूलाई सहयोग गर्नेको खोजी कार्य जारी रहेको छ भने अनुसन्धानलाई पनि तीव्र पारिएको छ।

बैंकिङ प्रणाली सुरक्षित बनाउनेबारे छलफल

नेपाल राष्ट्र बैंकले एटीएमबाट रकम लुटिएपछि बैंकर्सहरूसँगको छलफललाई तीव्रता दिएको छ। चिनियाँ ह्याकर गिरोहले नेपालका विभिन्न बैंकको एटीएमबाट रकम चोरेपछि बैंकिङ प्रणालीलाई अबका दिनमा कसरी सुरक्षित बनाउने भन्ने विषयमा सोमबार छलफल भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

सोमबारको छलफलमा राष्ट्र बैंकका पदाधिकारी, बैंकर्स तथा एटीएम लुटिएपछि गठन गरिएको छानबिन समितिका सदस्य सहभागी भएका थिए। आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिएको प्रवक्ता निरौलाले बताउनुभयो। उहाँका अनुसार छानबिन समितिले बुधबार छानविन प्रतिवेदन पेस गर्नेछ।

एटीएम ह्याक भएसंँगै अहिले देशभरको एटीएम असुरक्षित हुन पुगेको छ। बैंकका कर्मचारीहरू अहिले सेवा प्रवाह गर्न नै असुरक्षा महशुस गरिएको तर पनि सेवा दिइरहेको बताउँछन्। उता निक्षेपकर्ता पनि आफ्नो निक्षेप लुटिएला कि भन्ने भयमा रहेका छन्।

तर, राष्ट्र बैंकले भने निक्षेपकर्ताको निक्षेप सुरक्षित रहेको बताउँदै आएको छ। बैंकका प्रवक्ता निरौलाले निक्षेपकर्ताहरूको निक्षेप सुरक्षित रहेको बताउँदै निश्चिन्त हुन आग्रह गर्नुभएको छ। शनिबार विभिन्न बैंकको प्रणाली ह्याक गरी एटीएमबाट रकम चोरी भएसँगै अहिले बैंकिङ क्षेत्र तरंगित भएको छ।

 

प्रतिक्रिया दिनुहोस्