ताइजीमा विवादास्पद वार्षिक डोल्फिन शिकार शुरू



टोक्यो, (एजेन्सी) । जापानले आफ्नो तटीय शहर ताइजीमा पुनः विवादास्पद वार्षिक डोल्फिन शिकार कार्यक्रम शुरू गरेको छ। यस शिकारका लागि ती डोल्फिनलाई खाडीतर्फ धपाइन्छ र त्यहाँको पानीको गहिराइ कम भएको स्थानमा छुरा प्रहार गरी तिनीहरूलाई मारिन्छन्।

बाँकी केही डल्फिन भने अक्वारियम र जलीय पार्कका लागि बिक्री गरिने गरिन्छ। दशकौंदेखि यो ताइजी शिकार चल्दै आएको छ। सन् २००९ मा प्रतिष्ठित ओस्कार पुरस्कार विजयी वृत्तचित्र दि कोभले यस विषयलाई प्रस्तुत गरेपछि अन्तर्राष्ट्रिय जगत्को ध्यान यसतर्फ तानिएको थियो।

अन्तर्राष्ट्रिय जगत्ले लोपोन्मुख डोल्फिनको शिकारलाई वातावरणीय सन्तुलनमा आउन सक्ने समस्याका कारण विरोध जनाउँदै आएको छ। तर, सर्वत्र व्यापक आलोचनाका बाबजुद पनि जापानले यस वर्ष पनि यो शिकारलाई निरन्तरता दिएको हो।

यस वर्ष आइतबारदेखि ताइजी शिकार शुरू भएको हो। तर, जापानी सञ्चारमाध्यमका अनुसार डुंगाहरू डल्फिनबिना रित्तै फर्किएका छन्। वातावरणवादी समूह दि डल्फिन प्रोजेक्टले भने सोमबार रिस्सो प्रजातिका पाँच वटा डल्फिन मारिएको जनाएको छ। यस मौसमका लागि कुल कोटा मागअनुसार १ हजार ७ सयभन्दा बढी डल्फिन मार्न वा समात्न सरकारले अनुमति दिएको छ।

वातावरण संरक्षण अभियन्ताहरूले शिकारको तरिका निकै क्रूर रहेको तथा डल्फिनलाई पानीमा डुबाएर वा श्वास थुनेर मार्न कम्तीमा ३० मिनेट लाग्ने बताएका छन्।

ताइजीका माझीले भने आफ्नो समुदायको जीवनयापन यसकै व्यापारमा निर्भर रहेको बताउँछन्। डल्फिन शिकारको मौसम करिब ६ महिनासम्म रहने अनुमान गरिएको छ।

केही वर्षयता डल्फिन र ह्वेलको मासुको माग भने घट्दै गइरहेको छ। ती दुवैका मासुमा अस्वस्थकरस्तरमा पारोको मात्रा रहेको सार्वजनिक भइसकेको छ।

जलीय पार्कहरूमाथि पनि ताइजी शिकारमा पक्रिएका डल्फिन नकिन्न दबाब पर्ने गरेको छ।

जापानले अन्तर्राष्ट्रिय ह्वेलिङ आयोग (आईडब्ल्यू सि) त्यागेर यसै वर्ष व्यावसायिकरूपमा ह्वेल मार्ने कार्य शुरू गरेयता विश्वले जापानको निकै आलोचना गरिसकेको छ। यस वर्षको १ जुलाईमा व्यावसायिकरूपमा ह्वेल मार्ने जहाजले बन्दरगाह छाडिसेका छन्। तिनीहरूले केही ह्वेल मारेर बिक्री पनि गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्