भिडियो वार्ता अन्यत्रचाहिँ ?



पीएम ओली उपचारका सिलसिलामा सिंगापुर पुग्या छन्। त्यता जानुअघि उनले कम्रेड पोखरेललाई कार्यवाहक जिम्मेवारी तोके। अर्थात् आफ्नो अनुपस्थितिमा पोखरेलको हस्ताक्षर काफी छ, मपछिका सरकारका भान्छे उनै हुन् भन्दै ओली सिंगापुर उडे।

विगतमा पनि यस्तो जिम्मेवारी पाएका पोखरेल पनि मख्ख हुने नै भए। तर उनको यसपटकको जिम्मेवारी भने ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भन्या जस्तो भा’छ भन्या। सात समुद्रपारि पुग्या ओलीले भिडियो कन्फ्रेन्समार्फत सत्ताको डाडुपन्युँ चलाएसी ‘कार्यवाहक प्रधानमन्त्री मै हुँ’ भन्न पनि मुखै नलाग्ने भन्या।

धरहराले बुझ्न नसक्या कुरो, पीएम ओलीकै अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाटै क्याबिनेट बैठक टकाटक चलेसी यता कार्यवाहक जिम्मेवारी किन दिनु पर्या होला? अनि भिडियो कन्फ्रेन्सवाला बैठक स्वास्थ्य अवस्था के छ, के–के हुँदै छ, डाक्टरले के भन्या छन्, के–के खान भन्या छन् जस्ता प्रश्न/उत्तरमै सकिएको कुरो छ।

भनेसी, क्याबिनेट बैठकमा इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्स भनेर गर्व गरिहाल्नुपर्ने कुरोचाहिँ हैन क्यार। जे होस्, क्याबिनेट बैठकमा मन्त्रीहरूसँग भिडियो कुराकानी हुने नै भो जुन स्वाभाविकै हो।

त्यस अघिपछि पनि पीएम ओलीले पार्टीका खास मान्छे र पार्टीलाई सहयोग गर्ने खास मान्छेसँग पक्कै पनि भिडियो वार्ता जारी राखेकै होलान्। आखिर मन जोडिएका मान्छेसँग प्रविधि जोड्नु न हो।

प्रतिक्रिया दिनुहोस्