किन बढ्यो महिला हिंसा ?



नेपालमा महिला हिंसा दिनानुदिन बढ्दै गइरहेको छ। महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि ऐन, नियम र कानुन भए पनि हिंसामा कमी आउन सकेको छैन । महिलामाथि अहिले पनि समाजमा विभिन्न बहानामा विभेद गरिँदै आएको छ ।

महिलामाथि हुने सबै किसिमका भेद्भाव उन्मूलनसम्बन्धी महासन्धिले पनि महिलामाथि विभेद हुनुहुँदैन भन्छ तर हाम्रो समाजमा महिलालाई हेरिने दृष्टिकोणसँगै सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र शैक्षिक क्षेत्रमा विभेद हुँदै आएको छ । महिलाहरूमाथि विभेद हुनुहुँदैन भनेर धेरै कुराहरू उठ्ने गरे पनि हिंसा घट्न सकेको छैन ।

त्यसै गरी घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ ले पनि अर्को कुनै व्यक्तिलाई शारीरिक, मानसिक, यौनजन्य, आर्थिक यातना र भावनात्मक चोट पुर्याउने कुनै कार्य गर्न नहुने भने पनि समाजमा अहिले पनि हुने गरेको पाइन्छ। महिलाहरूले हिंसामा परेपछि न्यायका लागि पहल गर्ने गरे पनि अधिकांश महिलाले खासै पहल गरेको पाइन्न।

महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि बनेको कानुन कडाइका साथ पालना नहुँदा अहिले पनि महिलाहरू घरदेखि सडकसम्म हिंसामा पर्ने गरेका छन्। दोषीलाई कारबाही नहँुदा महिलाहरूमाथि अंगभंग हुने गरी कुटपिट गर्ने, जिउँदै जलाउने, घरमै पनि विभेदपूर्ण व्यवहार गर्ने, यौनशोषण गर्ने र घरबाट बाहिर निकाल्ने लगायतका घटनाहरू हुने गरेका छन्।

राजनीतिकरूपमा पहुँचमा रहेकाहरूले न्याय पाउने गरे पनि अधिकांश महिलाले न्याय पाउन सकेका छैनन्। त्यसैले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि सरकारी कार्यालय, गैरसरकारी कार्यालय, विभिन्न संघसंस्था, पत्रकार, बुद्धिजीवी, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनु जरुरी छ ।

– प्रदीप घिमिरे, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्