सम्बन्धविच्छेदले पिरोलिएका महिला



‘डिभोर्स’ अर्थात् सम्बन्धविच्छेद। जीवनको एउटा यस्तो पीडादायी क्षण हो, जसलाई सम्बन्धित व्यक्तिले भुल्न चाहे पनि समाजले भुल्न दिँदैन। अर्को शब्दमा भन्ने हो भने, डिभोर्स दाम्पत्य जीवनमाथि लाग्ने एक दाग हो। मान्छेका अनेक प्रश्नले उनीहरूको घाउ पुरानो हुन दिँदैन। मान्छेहरू उनीहरूको जीवनमाथि निकै चियोचर्चा गर्न थाल्छन्।

उनीहरू सोध्छन्, ‘अब के गर्ने ? विवाह गरिसकेपछि सम्बन्ध तोड्न हुँदैनथ्यो।’ अझ महिलाको अवस्था त झनै नाजुक हुने गर्दछ। चियोचर्चो गर्नेहरू भन्छन्, ‘महिला हौ, अब एक्लो जीवन कसरी बिताउँछ्यौ ?’ यस्ता तमाम प्रश्नहरूले सम्बन्धविच्छेद गर्नेहरूलाई तर्साउँछ अनि झस्काउँछ।

मानिसको जीवनमा विवाह एक अनिवार्य आवश्यकतामा पर्दछ। खासगरी जब युवतीको कुरा आउँछ, तब विवाह अपेक्षाकृत जरुरी मानिन्छ। विवाहलाई यसकारण अनिवार्य आवश्यकता मानिन्छ कि हरेक मान्छेलाई एक साथीको जरुरी हुन्छ, ताकि मानसिकरूपले, भावनात्मकरूपले, आर्थिकरूपले र कठिन परिस्थितिमा हातेमालो गरेर अगाडि बढ्न सकून्। हाम्रो समाजले पनि विवाहलाई धेरै महत्व दिन्छ। किनकि छोरीले एक सम्मानजनक र ठोस जीवन बाँच्न सकून्।

तर त्यही विवाह उनको जीवनको बोझ बनिदिन्छ भने उनी त्यो बोझ बोकिरहन सक्दिनन्। उक्त बोझलाई मिल्काउनु नै उचित ठान्छिन् र उनी सम्बन्धविछेदको संघारमा पुग्छिन्।

दाम्पत्य सम्बन्ध सुखी र खुशी बनाउनको लागि जोडीहरू दुवैको हात बराबर हुन्छ भनिन्छ। तर पनि समाजले उनीहरूमाथि हेर्ने दृष्टिकोणले सबै कुरा फरक पार्ने बुझिन्छ। अधिकांश समाजमा सम्बन्धविच्छेदपछि पुरुषको तुलनामा महिलालाई फरक दृष्टिले हेरिन्छ। एकातिर महिलाले एकतर्फ टुटेको दाम्पत्यको चोट झेलिरहेका हुन्छन्, अर्कोतर्फ मान्छेहरू उनीमाथि अनेक प्रश्न राख्दै मनोबल कमजोर बनाइरहेका हुन्छन्।

तिनै समाजका व्यक्तिहरू विवाहको रमझममा सहभागी भइदिन्छन्। तर पछि उनीहरूले तिनै महिलालाई अप्ठ्यारो पार्ने गरी अनेक प्रश्नहरू उब्जाउँछन्। शुरूमा उनी बच्ने प्रयास त गर्छिन् तर अन्त्यमा उनको कुनै सीप लाग्दैन।

आखिर मनमा जे भए पनि यस सम्बन्धविच्छेदले आफू खुशी रहेको र जीवनको नयाँ शुरूवात गर्दै गरेको बताएर कुरा गर्नेहरूलाई चुप लगाइदिन्छिन्। यस्तो महिलाहरूले किन भन्छन् भने, घरबार बिग्रिएको मामिलामा महिलाहरू नै अधिकांश ठाउँमा दोषी मानिन्छन्। यस्तो अवस्थामा हाम्रो नेपाली समाजमा धेरै युवतीहरू छन्। कोही आफ्नो निर्णयले खुशी छन् त कोही सम्बन्धविच्छेदका कारण जीवनभर पीडा झेलिरहेका छन्।

आर्थिकरूपले कमजोर वा अर्कामाथि निर्भर महिलाका लागि निश्चय पनि एक्लो जीवन सहज हुँदैन। यद्यपि आर्थिकरूपले सक्षम र कामकाजी महिला जो आफ्नो करिअरलाई बढी महत्व दिन्छन् र बन्धनमा अल्झिरहन, विनाकारण नियन्त्रणमा रहन चाहँदैनन्, उनीहरू त्यस्तो सम्बन्धबाट बाहिर आउन नै उचित ठान्छन्।

आफूमाथि भएको अत्याचारलाई चुपचाप सहनुको साटो त्यससँग जुध्न र अत्याचारीलाई जवाफ दिन साहस गर्छन्। यस्ता महिलालाई समाजले हतोत्साही गर्नुको साटो उनलाई हौसला दिएर जीवनमा नयाँ ऊर्जा प्राप्त गर्नका लागि साथ दिनुपर्छ। सम्बन्धविच्छेद गर्नु कुनै पाप होइन। हिंसा, अन्याय, क्रूरताको विरोध गरेर त्यसबाट मुक्त हुने बाटो हो।

यसपछि पनि जिन्दगी अन्त्य हुँदैन, बरु नयाँ बाटो खोजेर अनन्त सम्भावनाहरूको खोजी गर्न सकिन्छ। महिला हुन् वा पुरुष, सम्बन्धविच्छेदको निर्णय लिन सबैलाई मुस्किल पर्छ। यद्यपि दाम्पत्य जीवन जब बोझिलो बन्छ तब त्यसबाट उम्कनु नै सही हुन्छ। एक महिला जब सम्बन्धविच्छेदको निर्णय लिन्छिन्, तब उनको लागि यो निकै चुनौतीपूर्ण हुन जान्छ। आमाबुबा, नातेदार, समाज सबैलाई पन्छाएर आफ्नै लागि सोच्नु हिम्मतको कुरा हो।

त्यसैले जब उनी यो निर्णय लिन्छन् तब उनलाई यो निर्णय एकदमै महत्वपूर्ण निर्णय हो भन्ने भान हुन्छ। श्रीमान्–श्रीमतीसँग छुट्टिनु सबैभन्दा दुःखद क्षण हो। विवाह टुटेपछि जीवनको कुनै अर्थ रहँदैन भन्ने सोचाइ राख्नु विल्कुलै गलत कुरा हो। सम्बन्धविच्छेदपछि पनि नवजोडी खुशी हुन सक्छन्। आफ्नो लक्ष्यमा दौडन सक्छन्, भविष्यलाई देख्न सक्छन्, आफ्नो सपना र महत्वाकांक्षालाई पूरा गर्न जुट्न सक्छन्।

एक्लो महिलालाई मान्छेहरूले सहानुभूतिको दृष्टिकोणले हेर्छन्। यो कुरा नेपाली समाजमा सत्य छ। यद्यपि अर्काको यस्तो सहानुभूति नजर कसैका लागि पनि आवश्यक छैन। बरु महिलाको यस्तो निर्णयलाई सम्मान गर्न जरुरी छ।

सम्बन्धविच्छेद गरेका वा श्रीमान्बाट अलग भएका महिलालाई मान्छेको झुटो सहानुभूति होइन, उनको निर्णयप्रति सम्मानको भावना दाखाउन अत्यन्तै जरुरी छ। उनीहरूलाई हौसला प्रदान गर्न जरुरी छ। उनीहरूमा नयाँ ऊर्जा थपी एउटा सुनौलो अवसर प्रदान गर्न जरुरी छ।

– संगम अधिकारी, अर्घाखाँची

 

प्रतिक्रिया दिनुहोस्