राजनीतिको घेराबन्दीमा विश्वविद्यालयहरू



-देवीभक्त ढकाल

नेपालमा दलीय शासनको शुरूआतसँगै सत्तारूढ दलहरूले विश्वविद्यालयहरूलाई चरम दलीयकरण गरे। निर्लज्जतापूर्वक विश्वविद्यालयका प्राज्ञिक पदहरूलाई पनि सत्तारुढ दलको सदनको प्रतिनिधित्वको हैसियतका आधारमा पजनी गर्ने पद्धति, संस्कृतिलाई आफ्नो उपलब्धि सम्झे। प्राज्ञिक हैसियतभन्दा राजनीतिक हैसियत विश्वविद्यालयमा सम्मानित र पुरस्कृत हुने युगको शुरूवात भयो।

विश्वविद्यालयका महत्वपूर्ण पदहरूमा नियुक्ति, सेवामा प्रवेश, पदोन्नति, आत्मोन्नति आदिको स्रोत राजनीतिक आशीर्वाद हुन पुग्यो। भीसी, रेक्टर, रजिस्ट्रार, कार्यकारी निर्देशक, डिन, क्याम्पस प्रमुखजस्ता सबै प्राज्ञिक पदहरू सरकारमा रहेका दलहरूको शक्तिको अनुपातमा भागवण्डा गरे। त्यसलाई दल र दलसँग सम्बन्धित सबैले उपलब्धि र परिवर्तनको प्रतिफलको रूपमा बुझे।

यसमा पद हत्याउने र वितरण गर्ने दुवै पक्ष विश्वविद्यालयमा शक्तिशाली बने। यी दुवै पक्ष जति–जति शक्तिशाली बन्दै गए, त्यति–त्यति विश्वविद्यालयहरू कमजोर हुँदै गए। प्राध्यापक, कर्मचारी र विद्यार्थीका माध्यमबाट जबरदस्त राजनीतिक हस्तक्षेपको सिकार विश्वविद्यालयहरू बन्दै गए। यसलाई सम्बन्धित पक्षले बदलिएको राजनीतिक परिस्थितिको प्रतिफलको रूपमा आफ्नो उपलब्धि सम्झे।

पदमा रहनेहरूले विश्वविद्यालयमा सुधार भएको भन्दै रहे तर बिग्रेको भन्न सक्ने आँट कसैले गरेन, किनकि त्यो भन्नु भनेको ऊ निर्दलीय हुन्थ्यो या बहुदल व्यवस्था विरोधीमा गनिन्थ्यो। बहुदलका कामकाजको विरोध गर्ने काम अत्यन्तै जोखिमपूर्ण थियो।

नेपालको राजनीति सधैँ प्रजातान्त्रिक तर विडम्बना विरोधको ठाउँ भने सधैँ शून्य। विरोध सधैँ बलात निषेध हुने राजनीति नै नेपालीको नियति। त्यसलाई नै नेपालीले सधैँ मान्नुपर्ने प्रजातान्त्रिक संस्कार र संस्कृति। कुनै पनि प्राज्ञले गलतलाई यो गलत हो भन्ने जोखिम मोलेन।

विश्वविद्यालयमा मात्र हैन, समाजमा नै स्वतन्त्र प्राज्ञ बन्न पनि कठिन थियो र छ पनि। विश्वविद्यालयमा दलीय संलग्नता नराख्नेहरू त टुहुरो बन्नुपर्ने हुन्थ्यो र छ पनि। कुनै पार्टीको सदस्य हुनु नै प्राध्यापक–कर्मचारीको योग्यता र दक्षता भन्ने मान्यता स्थापित गरियो। परिवर्तित परिस्थितिबाट उत्पन्न दुष्प्रभाव निर्बाधरूपमा प्राध्यापक, कर्मचारी र विद्यार्थीसम्म पुग्यो। दलमा पकड नहुनेले विश्वविद्यालयको पद पाउने विषय त आकाशको फलसरह बन्यो।

विश्वविद्यालयमा प्राध्यापक, कर्मचारी, विद्यार्थीको विभेदको नै अन्त्य भयो। सबै दलका बफादार कार्यकर्ता बन्दा सबैमा गर्वानुभूति हुने अवस्था बन्यो। दलको बलमा पदाधिकारीलाई कर्मचारीले त के, विद्यार्थीले पनि टेर्न छोड्यो।

 

पद हत्याउने र वितरण गर्ने दुवै पक्ष विश्वविद्यालयमा शक्तिशाली बने। यी दुवै पक्ष जति–जति शक्तिशाली बन्दै गए, त्यति–त्यति विश्वविद्यालयहरू कमजोर हुँदै गए। प्राध्यापक, कर्मचारी र विद्यार्थीका माध्यमबाट जबरदस्त राजनीतिक हस्तक्षेपको सिकार विश्वविद्यालयहरू बन्दै गए। यसलाई सम्बन्धित पक्षले बदलिएको राजनीतिक परिस्थितिको प्रतिफलको रूपमा आफ्नो उपलब्धि सम्झे।

 

विश्वविद्यालयमा दलको परिचयमा प्राध्यापक, कर्मचारी र विद्यार्थी क्रियाशील हुने कुरा सामान्य बन्यो। प्राज्ञिक व्यक्ति प्राज्ञिक परिचयभन्दा दलीय परिचयमा रमाउने, प्रतिष्ठित बन्ने अवस्थामा अब उच्च शिक्षाको गुणस्तर, कर्मचारीको दक्षता, विद्यार्थीको ज्ञान आर्जन पक्ष ओरालो लाग्ने विषय त स्वाभाविक भन्नुपर्छ।

सबै पार्टीका प्राध्यापक, कर्मचारी, विद्यार्थीले आ–आफ्नो पार्टीलाई संगठित गर्दा नै आफ्नो भविष्य उज्ज्वल देखे। विश्वविद्यालय र पार्टी कार्यालयमा फरक हैन कि जस्तो अनुभव हुन थाल्यो। त्यो काम सबै दलमा आबद्धहरूले आ–आफ्ना दल र गुटसमेतको निर्देशनमा संगठनको विस्तार विश्वविद्यालयभित्र प्रतिस्पर्धात्मकरूपमा बेहिचक गरे। विश्वविद्यालय र पार्टी कार्यालयबीचको अन्तर छुट्याउन पनि कठिन हुने अनपेक्षित परिस्थितिको विकास भयो।

यसले नेपालका दलहरूमा र तिनका नेतृत्वमा भएको विकार र विकृतिको बीउ विश्वविद्यालयहरूमा बडो लगन र मेहनतका साथ नेतृत्वमा रहनेले नै रोपे। अब विश्वविद्यालयहरूमा विधि, विधान, पद्धतिभन्दा विकार, विकृति झाङ्गिँदै, बलियो हुदै संस्थागत भएको छ। यसले प्राध्यापकमा प्राज्ञिक, हैसियत, कर्मचारीमा प्रशासनिक दक्षता र विद्यार्थीमा ज्ञानार्जनको पक्ष नै प्राथमिकताभन्दा धेरै बाहिरका विषय बने।

विश्वविद्यालयहरूमा दक्षता अभिवृद्धि, ज्ञानगुनका विषयहरूमा बहस, अन्तरक्रिया, छलफल, प्रतिस्पर्धा हुनुभन्दा आ–आफ्ना दलको हित, संगठन विस्तारमा प्राध्यापक, कर्मचारी र विद्यार्थीले आफ्नो ध्यान केन्द्रीकृत गरे। यिनै विकार र विकृतिको सिकार विश्वविद्यालयहरू मात्र नभएर हाम्रा विकास, उन्नति, सोच, जीवनशैली र कार्यशैलीसमेत बने। त्यो पनि अल्पकालीन नभएर दीर्घकालीन।

पार्टीलाई संगठित र मजबुत बनाउन विश्वविद्यालयहरूका सेवामा प्रवेश, वृत्तिविकास, पदोन्नतिजस्ता विषयहरूको साँचो दलमा र गुटका नेतासम्म पुग्यो। सत्तारुढ दल र तिनका नेताहरू स्वायत्त भनिने विश्वविद्यालयहरूमा हाबी हुँदा सानोभन्दा सानो कामका लागि नेताहरूको चाकरी गर्नुपर्ने प्रवृत्ति र संस्कृतिको विकासले विश्वविद्यालय र प्राज्ञहरूको प्रतिष्ठाको चिर हरण ग¥यो। स्वाभिमानी र स्वतन्त्र प्रकृतिका प्राध्यापक र कर्मचारीको आत्मसम्मानमा भने जबरदस्त ठेस पुग्यो।

त्रिभुवन विश्वविद्यालयजस्तो जेठो, ठूलो, प्रतिष्ठित विश्वविद्यालयको सेवा आयोगमा इतिहासमा नै नभएको हेराफेरी, चरम बेथिति, विधिविहीनता र परीक्षामा नम्बर थप गरेर निकृष्ट विद्यार्थी उत्कृष्ट विद्यार्थी बनेको विषयभन्दा विश्वविद्यालयको अर्को निकृष्ट काम कुनै हुन सक्छ र ?

यो भन्दा अनैतिक अर्को काम विश्वविद्यालयमा त कल्पना पनि गर्न सकिँदैन। विश्वविद्यालयको लामो इतिहासमा नभएका जघन्य अपराधहरू किन र कसरी भए, यसबारे राज्यका जिम्मेवारहरूमा संवेदनशीलता नहुनु देश र समाजलई रसातलतिर लैजाने नियोजित योजना त हैन ?

अपराधलाई दण्डित नगर्ने समाजमा विधि र कानुन निरीह हुन्छन्। त्यस्तै परिवेश र परिस्थितिमा विकृतिहरू मौलाउँछन्। यो घटनाक्रमले विश्वविद्यालय विद्वान्, विशेषज्ञहरू उत्पादन गर्ने प्राज्ञिक थलोबाट चोर, ठग, घूसखोर, कामचोर उत्पादन गर्ने थलोमा रूपान्तरित भएको छ। यसको जवाफदेही विश्वविद्यालयको उच्च जिम्मेवारीमा बस्नेले लिनुपर्ने कि नपर्ने ? के हो जिम्मेवारी, कहाँ गयो जवाफदेहिता ?

अब त त्रिभुवन विश्वविद्यालयको डिग्री लिएको छु, त्रि.वि. सेवा आयोग पास गरेको छु, थिएँ, भन्न पनि लाज्जाबोध हुने अवस्थामा किन विश्वविद्यालय पुग्यो ? यसबारे विगतको नियुक्तिको शैली र पात्रहरू नै जिम्मेवार छन् भन्नु के अत्युक्ति हुन्छ र ? हाम्रो नेतृत्व किन जिम्मेवार र जवाफदेही बन्दैन ? सबै ठाउँमा व्यवस्थित र विधिपूर्वकको काम हुन सदाचारी चरित्र, नैतिकता र जवाफदेहिता जरुरी हुन्छ। यसलाई नेतृत्वमा हुनेले काम, व्यवहार, बोली, जीवनशैली र कार्यशैलीबाटै प्रमाणित गर्न सक्ने हुनुपर्छ।

दलवाद, नातावाद, कृपावाद, क्षेत्रवाद, धनवाद तथा चाकरी र चापलुसीका आधारमा पद हत्याउनेहरू पदमा टिक्न फेरि आफ्नै दलनिकट प्राध्यापक, कर्मचारी, विद्यार्थीसमेतको निर्लज्ज चाकरी गर्ने विषय सामान्यजस्तै बन्यो। दलमा दरो पहुँच हुनेहरूको स्वार्थ पूर्तिको हतियारसमेत बनेर पद जोगाउन र विश्वविद्यालयलाई कसरी चुस्ने भन्ने सोच र चिन्तन नेतृत्वबाटै हुन थाल्यो।

यस्तो निकम्माहरूको नेतृत्वका कारण विश्वविद्यालयहरू प्राज्ञिक थलोबाट विकृति उत्पादन गर्ने थलो बने। संरक्षकबाटै विश्वविद्यालयहरू लुटिए। चारैतिर दलको सेटिङ छ, दललाई खुशी पार्न जान्नेहरूका हजार खत माफ हुनाले नै विश्वविद्यालयहरू साफ भए।

यी विकार र विकृतिको अब वर्णन हैन, यिनले उपचार खोजेका छन्। त्यसको उपचार वर्तमान संरचनामा राजनीतिक नेतृत्वसँग नै अन्तरनिहित छ। यहाँ त धामी र बोक्सी एउटै छन्। बिगारेको पनि नेताले, फेरि पद्धति कस्तो छ भने सपार्ने अधिकार र दायित्व पनि कानुनले उनैलाई दिएको छ।

हामीले सुधारको कुरा गर्दा त ‘भाउजू रहिन् दाइको हात रिस रह्यो मेरो हात’ भन्ने उखान ठ्याक्कै मिल्छ। रक्षकहरू नै भक्षक ⁄ हिजोका विकृति र कार्यशैलीलाई अब दोषारोपण मात्र हैन, निवारणका लागि उपचार खोज्न वर्तमान राजनीतिक नेतृत्वले इमानदारिता बोलीले मात्र हैन काम र व्यवहारले नै प्रमाणित गर्न सक्नुपर्छ।

एक योग्य नेतृत्वले संस्थालाई कति सक्षम बनाउन सक्दो रहेछ भन्ने उदाहरणका लागि कुलमान घिसिङ नै उदाहरणीय प्रमाणित भएका छन्। नेपालको तत्कालको विद्यमान जलविद्युत् उत्पादनमा नै पूरै देशलाई उनले कसरी अँध्यारो मुक्त बनाए। यो घटनाले हामीलाई आशावादी पनि त बनाएको छ।

त्यसैले नेतृत्व छनौट गर्ने व्यक्ति इमानदार नभए सक्षम व्यक्ति नियुक्त हुन्न। सक्षम व्यक्तिको नियुक्तिविना विश्वविद्यालयहरूको अवस्था सुकँदैन र विश्वविद्यालय सुध्रेनन् भने देश कहिल्यै सुध्रँदैन। देश नसुध्रे हामी कसरी सुध्रने ? देश सुधार्नका लागि नै तपाईं प्रधानमन्त्री हुनुभएको हो, राजनीति गर्नुभएको हो भने पहिलो काम र सुधारको थालनी विश्वविद्यालयहरूमा निष्पक्षताको आधारमा सक्षम नेतृत्वको नियुक्तिबाट गर्नुहोस्।

तपाईंको पारिवारिक परिवेश र व्यक्तिगत जीवनलाई नियाल्दा तपाईंसँग निजी स्वार्थ नहुनुपर्छ। यस्तो परिस्थितिमा तपाईंले देश, जनता, न्याय, नैतिकतालाई चाहिँ स्वार्थ बनाउने आँट गर्नुभयो भने इतिहास तपाईंप्रति निश्चितरूपमा सकारात्मक हुनेछ।

विश्वविद्यालयमा योग्य, चरित्रवान्, जिम्मेवार, कामप्रति निष्ठावान्, जवाफदेही व्यक्तिको छनौट र नियुक्ति हुन सके उसले सुधार गर्छ। खस्केर रसातलमा पु¥याइएको विश्वविद्यालयहरूको शाखलाई पुनर्थापित गर्न सक्ने व्यक्ति नियुक्ति गर्न पार्टी, गुट, नाता, पार्टी हित र आर्थिक लालसाको घेराबाट नितान्त माथि उठ्नुपर्छ।

त्यो दृढता र इच्छाशक्ति नै प्रमुख आधार हो। कुनै पनि पदमा नियुक्ति हुने व्यक्तिलाई कृपया तपाईंको दलीय विचार र आँखाले हैन, विश्वविद्यालयको हितका कोणबाट मात्र हेर्नुस्। अहिले दल, पैसा, नाताको आडमा विश्वविद्यालयहरूको पदाधिकारी बन्ने र बनाउनेहरूको जालझेल, षड्यन्त्र, दबाब, चाकरी बेपरवाह गर्ने, परास्त गर्ने आँट र साहसको आविष्कार कुलपतिज्यू तपाईंको नेतृत्वले नै गर्नुपर्छ।

अहिले प्रायः सबै विश्वविद्यालयहरूको उपकुलपति बन्छु भन्नेहरू, पदको याचना गर्नेहरू ‘लामो समय विश्वविद्यालयमा काम गरें, एकपटक उपकुलपति भएर मर्छु हजुर’ भन्न आउँछन्। उपकुलपति भएर मर्ने एजेन्डा लिएर आउने व्यक्तिले के विश्वविद्यालयमा विद्यमान बेथिति र विकृतिलाई चिर्न सक्छ ?

विगतमा अक्षम व्यक्तिहरूको नियुक्तिले नै विश्वविद्यालयहरू थला परेको अवस्थामा छन्, अब त्यसैलाई कुनै पनि अवस्था र बहानामा पुनरावृत्ति हुन दिन हुन्न।
अहिले विश्वविद्यालयहरूको पदाधिकारी बन्ने र बनाउनेहरूको विविध प्रकार र शैलीको दबाब दिनेहरूको लस्कर थेग्न र पन्छाउन तपाईंलाई निश्चय पनि कठिन होला। तर ती पार्टी, नाता, पैसाका आधारमा दबाब दिन आउनेहरूलाई पन्छाउन कठिन छैन।

ती उम्मेदवारहरूलाई एकमात्र प्रश्न तिनलाई पन्छाउने हतियार काफी हुन्छ। त्यो हो तपाईं कार्यरत विश्वविद्यालयको अवस्थाबारे तपाईंसँग विगतको लिखित चिन्तन र चासो के छ ? कुन–कुन राष्ट्रिय पत्रपत्रिकामा वा अनुसन्धानमूलक जर्नलहरूमा तपाईं कार्यरत विश्वविद्यालयका बेथितिहरू के–के छन् ? र, सुधार गर्न के–के गर्नुपर्छ ? भन्ने तपाईंको लिखित बौद्धिक र अनुसन्धानमूलक विश्लेषण के छ ?

यो प्रश्नले नाता, राजनीति र नजरानालाई आधार बनाएर पदको याचना गर्नेहरू सबै तत्काल स्वयं अयोग्य ठहरिन्छन्। यो प्रश्नले गैरप्राज्ञिक आधारमा आउनेहरू सबै अयोग्य भएको अनुभूति लिएर फर्कन्छन्। किनकि अहिले नियुक्तिका लागि माननीय वा जिल्लाको नेता वा कुनै चिनेको वा नियुक्ति माफिया लिएर आउने विद्वान् हुँ भन्नेले सम्बन्धित विश्वविद्यालयको विकृति र उपचारबारेमा कहीँ–कतै कलम चोपेको हुँदैन र म निश्चितताका साथ भन्छु, छैन।

निकम्माहरूको नेतृत्वका कारण विश्वविद्यालयहरू प्राज्ञिक थलोबाट विकृति उत्पादन गर्ने थलो बने। संरक्षकबाटै विश्वविद्यालयहरू लुटिए। चारैतिर दलको सेटिङ छ, दललाई खुशी पार्न जान्नेहरूका हजार खत माफ हुनाले नै विश्वविद्यालयहरू साफ भए। यी विकार र विकृतिको अब वर्णन हैन, यिनले उपचार खोजेका छन्। त्यसको उपचार वर्तमान संरचनामा राजनीतिक नेतृत्वसँग नै अन्तरनिहित छ।

यो एकमात्र सूत्रको प्रयोगले अब गैरप्राज्ञिक हैसियतमा पद हत्याउन खोज्नेहरूको चक्रव्यूहबाट कुलपतिज्यू तपाईं सजिलै उम्कन सक्नुहुन्छ। यसले तपाईंलाई बल्ल नियुक्तिमा स्वतन्त्र बनाउँछ। अब निष्पक्षताको हतियार चलाउन निर्बाध पाउनुहुनेछ।

कुलपतिज्यू, विश्वविद्यालयका पदाधिकारीको नियुक्तिमा एकपटक तपाईंले आफूलाई दलको संकुचित र स्वार्थप्रेरित सोचविचारले हैन, देशको गरिमामय प्रधानमन्त्रीको हैसियतले निर्णय गर्नुहोस् त, यो अवस्थामा अब नियुक्तिको लागि कुनै पनि व्यक्ति तपाईंको लागि आफ्नो र पराया भन्ने हुँदैन।

यो अवस्थामा हुने निर्णय संस्थाको हितमा हुन्छ। विगतमा राम्रो भन्दा हाम्रालाई प्राथमिकता दिँदा नै विश्वविद्यालयहरू यो दयनीय, अकल्पनीय अवस्थामा पुगेका छन्। यसपटक यो हिजोको आफ्नै पार्टीमा पनि आफ्नै गुटको व्यक्तिलाई नियुक्ति गर्ने दलहरूले प्रयोग गर्दै आएको दलहरूको लोकप्रिय सूत्र इमानदारीपूर्वक परित्याग गर्नुहोस्।

यस्तो मनस्थिति र परिस्थितिमा पदाधिकारी खोज्नलाई विश्वविद्यालयमा राम्रो प्राज्ञिक हैसियत बनाएका, निर्णय र कार्यान्वयन क्षमता भएका, निष्पक्ष र लोभमुक्त चरित्र भएका, कुनै पनि पार्टीको र नेताहरूको अनुरोध र दबाबमा हैन, नीति र नियमअनुसार काम गर्ने, निर्णय गर्ने, कार्यान्वयन गर्ने हिम्मत, क्षमता र तत्परता भएको व्यक्ति खोज्नुहोस् र रोज्नुहोस्।

के विश्वविद्यालयहरूले आफ्नै व्यवस्थापनका लागि योग्य र इमानदार व्यक्ति जन्माएका छैनन् र ? पक्कै पनि छन्। खास गरी विगतमा भएका विश्वविद्यालय हित विपरीतका निर्णयलाई उल्ट्याउन सक्ने, आफू मातहतका अधिकारी, कर्मचारी, विद्यार्थीलाई नियम र विधि विपरीत काम गर्न खबरदारी गर्न सक्ने, गलत काम गर्ने जो–कोहीलाई विनाभेद्भाव दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्न सक्ने समतामूलक, पारदर्शी र तत्परता भएको निडर नेतृत्व खोज्नुहोस् र नियुक्त गर्नुहोस् त।

आफू स्वयं नियम, अनुशासन, मर्यादामा बस्ने, नैतिक, चारित्रिक धरातल उच्च भएको ‘आश र त्रास’मुक्त व्यक्तिको छनौट गरौँ त। ती तपाईंको पार्टीका वा कसैको पार्टीका वा नातागोताका हुनुपर्छ भन्ने स्वार्थप्रेरित भावना र चाहना एकपटक परित्याग गरेर त हेर्नुस्। कुनै पार्टीप्रति आस्था, लगाव नभएका तर विश्वविद्यालय, देश र समाजप्रति जिम्मेवार भएकामध्येबाट छनौट गर्दा पनि आकाश खस्न र धर्ती नभासिन सक्छ।

एकपटक अप्ठ्यारो नमानेर आँट र साहस गर्नुहोस् त। तपाईंको एकमात्र विवेकपूर्ण निर्णयले विश्वविद्यालयहरू सुध्रन्छन्, देश सुध्रन्छ र हामी पनि सुध्रन्छांै। ती सुध्रिएका विश्वविद्यालयहरूले भोलि अत्यन्तै तीक्ष्ण बुद्धि भएका जनशक्तिहरू उत्पादन गर्दछन्। तिनै विद्वान्ले देशको राजनीति, अर्थनीति, शिक्षा, उद्योग, वाणिज्य, विज्ञान, प्रविधि, सडक, रेल, पानीजहाज मात्र हैन, अन्तरिक्ष विज्ञानको समेत विकास र समृद्धिको नेतृत्व लिन्छन्।

उनीहरूको नैतिकता, बौद्धिकता र चारित्रिक बलले देशमा विकास, समृद्धि र रीतिस्थितिको सकारात्मक प्रभाव पर्छ। त्यसको प्रतिफलको रूपमा भोलि देशले विकास र समृद्धिको क्षेत्रमा नाटकीय उपलब्धि हासिल गर्न सक्षम हुन्छ।

कुलपतिज्यू, तपाईंले अहिले विश्वविद्यालयका पदाधिकारीको छनौटमा उचित, निष्पक्ष र देशभक्तिमा आधारित निर्णय लिनुभयो भने यो एकमात्र निर्णयले नै देश विकासको पूर्वाधारको बलियो जग बन्छ। तपाईंको राजनीतिक जीवन मात्र हैन, समग्र जीवन नै सार्थक र अर्थपूर्ण हुन्छ। यो निर्णयले तपाईंलाई अजर–अमर बनाउनेछ। वर्तमान पुस्ताको मात्र हैन, भावी पुस्तासमेतको तपाईंप्रति अगाध आस्था हुनेछ।

यो एकमात्र निर्णयले तपाईंलाई मृत्युपछि जीवित रहने आधर निर्माण गर्नेछ। सबैले गर्ने तरक्की र प्रगतिको अर्को नाम हो मृत्युुपछि बाँच्ने उपायको खोजी। हाम्रा विश्वविद्यालयहरू अहिले नैतिक, चारित्रिक, प्राज्ञिकरूपमा मृत प्रायः छन्। यिनहरूको गरिमा, प्रतिष्ठा, नैतिकता र बौद्धिकतालाई पुनर्जीवित गर्न प्राप्त अवसरलाई पूर्ण सदुपयोग गर्नुहोस्। यो काम तपाईंले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?

यी र यस्ता प्रश्नको निष्पक्ष जवाफ भाषणमा हैन पदाधिकारीको छनौट र नियुक्तिका माध्यमले दिनुहोस्। नयाँ नियुक्ति हुने पदाधिकारीलाई छ महिने, एक बर्से, दुई बर्से, तीन बर्से र चार बर्से कार्ययोजना र सुधारका योजनाहरू नियुक्तिपू्र्व नै प्रस्तुत गर्न लगाउनुहोस्। योजनाअनुसारको कामको उपलब्धि भएन भने यसैलाई राजीनामा भन्ने अक्करनामासमेत लिएर मात्र नियुक्त गर्नुहोस्।

निर्दिष्ट समयमा ती योजना र सुधारका लक्ष्यहरू पूरा भए नभएको आवधिक प्रगति प्रतिवेदन लिने व्यवस्था गर्नुभयो भने काममा क्षमता र दक्षता प्रदर्शन गर्न नसक्ने र नजान्नेहरूलाई पदमा बस्न पाइँदैन वा हुँदैन भन्ने नजिरको शुरूवात विश्वविद्यालयहरूबाटै गर्नुहोस्। पदलाई आवधिक हैन, कामले उसको अवधि निर्धारण हुने पद्धतिको शुरूवात मात्र हैन, निर्मम कार्यान्वयनको व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रबन्ध पनि गर्नुहोस्।

त्यसपछि देशको अवस्था र परिस्थिति कता जान्छ, त्यो हेर्न पाउने नेपालीको हक सुरक्षा गर्ने समय र परिस्थिति बनाउन पक्कै चुक्नुहुनेछैन। कुलपतिज्यू, सजिलै झुक्नुहुन्न, त्यसैले आशा र विश्वास छ कि विश्वविद्यालयमा अनुकूल अवस्था बनाउने पूर्वाधारको निर्माणकार्यको थालनी गर्न पनि पक्कै चुक्नुहुन्न।

(लेखक ढकाल त्रिविको प्राध्यापन सेवाबाट अवकाशप्राप्त पूर्वक्याम्पस प्रमुख हुनुहुन्छ।)

 

 

प्रतिक्रिया दिनुहोस्