उत्तर कोरियाद्वारा किमको निगरानीमा रकेट लन्चरको परीक्षण



सोल, (एजेन्सी) ।उत्तर कोरियाले पुनः एकपटक आफ्ना नेता किम जोङ उनको निगरानीमा एक नयाँ रकेट लन्चरको परीक्षण गरेको छ। यसले परमाणु निःशस्त्रीकरणमा कुनै प्रकारको वार्ता शुरू हुन अपेक्षा हालका लागि कठिन बनाइदिएको छ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले कम दूरीका दुई ब्यालेस्टिक क्षेप्यास्त्र शनिबार परीक्षण गरेको हो। तर उत्तर कोरियाका सञ्चारमाध्यमले ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’को परीक्षण गरेको जनाएको छ।

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासविरुद्ध उत्तर कोरियाले विगत केही समयदेखि नयाँ हतियार तथा क्षेप्यास्त्रको परीक्षण गरिरहेका छ। यो संयुक्त अभ्यास करिब एक हप्ता अगाडि समाप्त भएको हो।

देशको सरकारी समाचार निकाय कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले भने– ‘नयाँ विकसित प्रणाली एक ठूलो हतियार हो।’ उनले उक्त बहुक्षेप्यास्त्र प्रक्षेपक विकास गर्ने वैज्ञानिकहरूको पनि सराहना गरे।

लगातार बढ्दो सैन्य खतरा र शत्रुतापूर्ण शक्तिको दबाबलाई पूर्णरूपमा सामना गर्न देशले हतियार विकसित गर्न आवश्यक रहेको उनले बताएको केसीएनएले जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति भवन ब्लु हाउसले उत्तर कोरियाको हतियार परीक्षणलाई ध्यानमा राखी राष्ट्रिय सुरक्षा परिषद्को एक बैठक बस्ने तयारी भइरहेको जनाएको छ।

अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोको आलोचना गरेपछि उक्त प्रक्षेपण गरेको हो। पोम्पियोले उत्तर कोरियालाई पूर्णरूपमा निःशस्त्रीकरण नगरेसम्म अमेरिकाको उसमाथि कठिन प्रतिबन्ध जारी रहने बताएका थिए।

त्यसपछि प्योङयाङले पोम्पियो अत्यन्त विषाक्त भएको बताएका थिए। अमेरिका र दक्षिण कोरियाका सेनाको संयुक्त सैन्य अभियानविरुद्ध उत्तर कोरियाले हालैका हप्तामा कम दूरीका कयौं क्षेप्यास्त्र परीक्षण गरेका थिए।

ट्रम्पको प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार उत्तर कोरियाको ताजा क्षेप्यास्त्र परीक्षणबाट आफू खुसी नभएको प्रतिक्रिया दिए।

यद्यपि उनले यस घटनालाई गम्भीरतापूर्वक महत्व दिएको छैन

। ट्रम्पले जी–७ शिखर बैठकबाहिर पत्रकारहरूलाई भने– ‘म यस घटनालाई लिएर खुसी छैन। तर पनि सम्झौता उल्लंघनको पक्षमा छैन।’

उत्तर कोरियाका नेता किम जोङ उनद्वारा एक विशाल बहुक्षेप्यास्त्र प्रक्षेपकको निगरानीपछि ट्रम्पको उक्त बयान आएको हो।

 

प्रतिक्रिया दिनुहोस्