रविका समर्थकबाट प्रहरीमाथि आक्रमण, डीएसपीसहित ७ घाइते



चितवन । चितवनमा  रवि लामिछाने समर्थकको आक्रमणबाट डिएसपीसहित सात प्रहरी घाइते भएका छन् । लामिछाने समर्थकको आक्रमणबाट ७ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ड्युटीमा खटिएका प्रहरीमाथि आन्दोलनकारी एक्कासी ढुंगा प्रहार गरेको चितवन  प्रहरीले जानकारी दिएकाे छ । घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी एकनारायाण कोइरालासहित चारजना प्रहरी रहेका छन् । केही प्रदर्शनकारी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै सडकमा  प्रदर्शन गरिरहेका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्जका साथै केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अहिले अवस्था नियन्त्रणमा रहेको एसपी मल्लले बताएका छन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले गत साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको मोबाइलमा लामिछाने, कँडेल र कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको बताएका छन् ।

भिडियोमा नाम उल्लेख भएका तीनै जनालाई आज सरकारी वकिल कार्यालय चितवनले आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्