किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबल च्याम्पियन



न्युज अफ नेपाल, काठमाडौं । ललितपुरमा सम्पन्न पाँचौं एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि किर्गिस्तानले जितेको छ ।

शनिबार लगनखेलस्थित नेपाल आर्मीको कभर्ड हलमा भएको फाइनल खेलमा किर्गिस्तानले उज्बेकिस्तानलाई २६–२४, २७–२५, २५–१९ को सीधा सेटमा हराएको हो । किर्गिस्तानको यो दोस्रो उपाधि समेत हो । टोलीले पहिलो दुई सेटमा विपक्षीबाट कडा चुनौती पाएको थियो । यसको बावजुद किर्गिस्तानले ती दुबै सेट जितेपछि तेस्रो सेट आरामका साथ जित्यो ।

७ टोली सहभागिता भएको सो प्रतियोगितामा आयोजक नेपाल पाँचौं भएको छ । शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई हराएर पाँचौ स्थान प्राप्त गरेको थियो । नेपालले यसअघि समूह चरणमा किर्गिस्तान र माल्दिभ्ससँग सोझो सेटमा हारेपछि सेमिफाइनलमा पुग्ने अवसर गुमाएको थियो ।

त्यस्तै तेस्रो, चौथो, छैठो र सातौंमा क्रमशः तुर्कमेनिस्तान, माल्दिभ्स, अफगानिस्तान र बंगलादेस रहेका छन् । पुछारमा रहेको बंगलादेसले आगामी छैटो संस्करण आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्