प्रमुख सचेतकको घरमा बम विष्फोट गराउने ३ जना पक्राउ



बुटवल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश ५ का संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा विष्फोट गराउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता बिक्रम यादव, रुदल यादव र विष्णुप्रसाद तिवारी मुकेश रहेका छन्।

पक्राउ परेका विक्रम यादव विप्लव नेकपाको जिल्ला जनसरकार उपप्रमुख, रुदल यादव प्रादेशिक जनसरकार सदस्य र मुकेश विप्लव नेकपाको जिल्ला कमिटी सदस्य रहेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गत साउन ३१ गते राति रुपन्देही सैनामैना नगरपालिका-८ शान्तिटोल स्थित ढकालको निवासमा विष्फोटन र आगजनी भएको थियो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि रुपन्देही गैडहवा गाउँपालिका-२ सानो धुपहीस्थित एनसेल टावरमा साउन १५ गते आगजनी र बम विष्फोटमा समेत संलग्न रहेको अभियोगमा उनीहरुविरुद्ध मुद्धा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्