नेपाली क्रिकेट टोली श्रीलंका जादै, प्रतिद्वन्द्वीलाई हराउने लक्ष्य



काठमाडौं । दुई सातापछि सुरु हुन लागेको यू–१९ एसिया कप क्रिकेटमा टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउने लक्ष्यका साथ नेपाली क्रिकेट टाेली भोलि श्रीलंका जादैछ ।

श्रीलंकामा स्थानीय टोलीसँग केही अभ्यास खेल खेलेपछि नेपालको तयारी पूरा हुनेछ । भारत, पाकिस्तान, श्रीलंकालगायतका टेष्ट नेशनहरुको सहभागिता रहने प्रतियोगितामा नेपालका लागि आफ्नो क्षमता जाँच्ने महत्वपूर्ण अवसर हो ।

सेप्टेम्बर ५ देखि १४ सम्म हुने प्रतियोगितामा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् भने नेपाल, कुबेत र यूएई एसोसिएट टिममा छन्। नेपाल आयोजक श्रीलंका, बंगलादेश र यूएईसँगै समूह ‘बी’ मा छ ।

‘मौसमले जतिसम्म साथ दिएको छ, त्यसको सदुपयोग गरेका छौं । हामीसँग भएको सुविधाको प्रयोग गरेर अभ्यासमा कुनै कसर छोडिएको छैन । वर्षाको बापजुद पनि राम्रो तयारी गरेको टोलीका प्रशिक्षक विनोद दासले बताए ।

एसिया कपमा नेपालको कप्तानी अनुभवी ब्याट्सम्यान रोहितकुमार पौडेलले गर्नेछन् । टिममा पवन सर्राफ, सन्दीप जोरा, भीम शार्की, रित गौतम, आशिफ शेख, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरि, सागर ढकाल, खड्कबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी छन् । उनीहरुमध्ये धेरैसँग अन्तर्राष्ट्रिय म्याचको अनुभव छ ।

सबै खेलाडीले राम्रो अभ्यास गरिरहेको र सकारात्मक नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको प्रशिक्षक दास बताउँछन् । नेपालको यू–१९ टिमले पछिल्लो दुई वर्षको अन्तरालमा २९ वटा खेल खेलेको छ । त्यसमध्ये ६ वटामा हार ब्यहोरेको छ भने बाँकी खेल आफ्नो पोल्टामा पार्न सफल भएको छ । हारेका ६ खेलमध्ये पाँच खेल सबै टेष्ट राष्ट्रसँग थियो । यो पटक भने नेपाल टेष्ट राष्ट्रलाई नै चुनौती दिने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

प्रशिक्षक दास भन्छन्, ‘हामी जित्नुपर्ने दबाबकै बीचमा खेल्नेछौं । यदि हामीले आफ्नो स्तरभन्दा माथि उठेर खेल्न सक्यौं भने मात्रै अरु टिमलाई चुनौती दिन सक्नेछौं ।’

कप्तान रोहित टेष्ट राष्ट्रसँग खेल्न पाउनु नेपालका लागि अवसर भएको बताउँछन् । भन्छन्, ‘टेष्ट राष्ट्रसँग खेल्न पाउनु ठूलो अवसर हो । त्यो अवसरलाई राम्रोसँग सदुपयोग गरेर प्रतिद्वन्द्वीलाई स्तब्ध पार्ने लक्ष्य छ हाम्रो । हामी टेष्ट राष्ट्रलाई पराजित गर्न सक्छौं तर, फिल्डमा सबैले उत्तिकै राम्रो प्रदर्शन गनुपर्छ

प्रतिक्रिया दिनुहोस्