होली वाइनको कमाल



पीएम ओली पुनः स्वास्थ्य परीक्षणका लागि सिंगापुर उड्याछन्। आफू विदेश उड्नुअघिको सचिवालय बैठकमा अन्य एजेन्डालाई सोझै पाखा लगाएर ओलीले शुभयात्रा, शुभकामना, शीघ्र स्वास्थ्य लाभको कामना गर्न आग्रह गरे।

‘बैठकले मलाई स्वास्थ्य लाभको कामना गरोस्, म तपाईंहरूको शुभकामना लिएर उपचारका लागि जान्छु’–कम्रेड ग्याङलाई ओलीले यस्तै भने। लगत्तै कम्रेड महोदयहरूबाट यस्तै आसयका शभकामनाको वर्षा भयो तर वरिष्ठ नेता नेपालले केही निर्णय पनि गर्नुपर्ने अडान कसे। उनको प्रस्तावमाथि ओलीले टेर पुच्छर लाएनन्। आफ्नो कुरो नबिक्ने ठहर भएसी उनले मुटुमाथि ढुंगाराखी ओलीतर्फ फर्कदै भने–‘तपाईंको स्वास्थ्य राम्रो होस्, छिटै विसेक होस्।’

तर ओली कड्किए–‘चाहिएन तपाईंको शुभकामना, शुभकामना तपाईं नै राख्नुस्।’ ओलीले यस्तो जबाफ फर्काउदा नेपाल भन्दा बढी अन्य कम्रेड पो रातोपीरो भएको देख्दा धरहरा तीन छक पर्यो।

‘अहिले कम्रेड नेपाललाई खुच्चिङ भनेर के गर्नु, कुनदिन हाम्लाई पनि उनले यस्तै मुखभरीको जवाफ फर्काउँछन्,’ भन्दै कम्रेड ग्याङले आपसमा कानेखुशी गरेको देखियो।

ओली र नेपालको अहिलेको जुहारी पोहोर खाएको होली वाइनको असर त होइन भन्या ? खै के–के खाँदा निकै पछिसम्म ह्याङ ओभर हुन्छ भन्छन् त्यस्तै भा होला।

प्रतिक्रिया दिनुहोस्