अभिनेत्री मल्ल सम्मानित



जमानाको फिल्म कन्यादानमा तीजको रहर आयो बरी लै बोलेका तीज गीतमा अभिनय गरेर तीज पर्वलाई अझ संगीतमय तुल्याउनुका साथै नेपाली फिल्म क्षेत्रमा ३ दशकदेखि निरन्तर योगदान दिएको भन्दै अभिनेतृ गौरी मल्ललाई सम्मानित गरिएको छ।

नेचर इसेन्स र कलर इसेन्स कस्मेटिक कम्पनीले बुधबार राजधानीमा आयोजना गरेको तीज उत्सव–२०७६ मा अभिनेतृ गौरी मल्ललाई सम्मान गरिएको हो। कार्यक्रममा गायिका रेखा शाहलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा प्रथम नेपाली अभिनेतृ भुवन चन्दले अभिनेतृ मल्ल र गायिका शाहलाई सम्मानित गरिन्।

त्यसै गरी ब्युटिसियन सुलोचन श्रेष्ठ र रस्का वैद्य श्रेष्ठलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा ब्युटिसियनहरू शान्ति श्रेष्ठ, पुनम शाह, मीरा बस्नेत, अमृता विश्वकर्मा र गीता गुरुङलाई वर्षको उत्कृष्ट ब्युटिसियन अवार्ड, सुमन गौतम, हरि भेटवाल र अजय मानपतिलाई वर्ष उत्कृष्ट नेचर इसेन्स, कलर इसेन्ट वितरक अवार्ड तथा सुदर्शन केसी, विदुर आचार्य र सागर जिसीलाई वर्षको उत्कृष्ट विक्रेता अवार्ड प्रदान गरिएको छ।

करिब ५ सय ब्युटिसियन सहभागी कार्यक्रममा हास्य कलाकारहरू पल्पसा डंगोल (चम्सुरी), दमन रूपाखेती र दिनेश काफ्लले विभिन्न प्रहसनमार्फत मनोरञ्जन प्रदान गरिएको थियो भने गायिका मीना निरौलाले ठमेल बजार, काले दाइ, रूपै मोहनीलगायत आफ्ना आधा दर्जन लोकप्रिय गीत गाएर सबैलाई नचाइन्।

मिसेस नेपाल ग्रान्ड–२०१९ की विजेता सिर्जना श्रेष्ठ र ब्युटिसियन शान्ता मगरसहितको नृत्य पनि आकर्षक थियो। महिलाबीच शुभकामना आदन–प्रदानका लागि तीज उत्सव आयोजना गरिएको कलर इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेतीले बताए।

प्रतिक्रिया दिनुहोस्