मोबाइल फेसन



-टीका खनाल

गर्नेलाई नभई चिन्ता देख्नेलाई सरम भयो
बिग्रियो चलनै सारा विकृति चुलिँदै गयो।
बिहे गर्ने चलन अहिले फेसनमा ढल्किँदै गयो
रीतिरिवाज मर्दै गो देखासिकी हुँदै गयो।।

कहिलेदेखि उनै जोडी साथी भइकन घुम्दछन्
नाता जात कुरै छैन जसलाई पनि चुन्दछन्।
चिन्दैनन् न त त्यो को हो जान्दैनन् बस्छ त्यो कहाँ
जसले लग्यो त्यतै घुम्न जान्छन् जहाँतहाँ।।

इन्टरनेटको सहारामै जान्ने हुन्छन् सबै कुरा
कसैले सत्य के बोल्यो जाली हुन्छन् तिनी पूरा।
झुटकै सपना बुन्दै दिनरात बिताउँछन्
कति त्यो सत्य नै होला कति पाप चिताउँछन्।।

कुरा टुंगिन्छ बिहेमा बिहे गर्छन् खुसी हुँदै
वर्ष दिन नपुग्दैमा छुट्टिन्छन्, बस्छन् रुँदैरुँदै।
बिहेमा कर्म के हुन्छ ? फोटो हुन्छ थरीथरी
सेल्फीमा बनाउनैपर्ने चुच्चो मुख कसैगरी।।

यस्ता यी चलनैदेखि मन आत्तिन्छ बेसरी
जीवन त्यो नरकै हुन्छ गरिखानु कसो गरी।
फेसनै सरी भो सारा धर्मकर्म कतैकतै
संस्कारी चलनै के हो सोच्नुपर्ने जताततै।।

अझै पनि समयमै सोच्नुपर्छ कति कुरा
संस्कार हाम्रो मर्दै छ बचाइ राखौं है पूरा।।

 

प्रतिक्रिया दिनुहोस्