जिन्दगीको ब्यालेन्स–सिट



-दीपक खनाल

यता मिलायो उता मिल्दैन
उता मिलायो यता मिल्दैन
दायाँ मिलायो बायाँ मिल्दैन
बायाँ मिलायो दायाँ मिल्दैन
तल मिलायो माथि मिल्दैन
माथि मिलायो तल मिल्दैन
जिन्दगीको यो ब्यालेन्स–सिट !

……………………………
न भाग गरेर मिल्छ
न गुणन गर्दा सही उत्तर निस्कन्छ।
कहिले सिंहदरबार धाउँछु
कहिले बालुवाटार आउँछु।
न दिल्ली पुग्दा हरहिसाब मिल्छ
न वासिङ्टन डुल्दा हिसाबकिताब जुर्छ।
यता जोडे पनि बिग्रन्छ
उता जोडे पनि बिग्रन्छ।
यता घटाए पनि गलत उत्तर आउँछ
उता घटाए पनि गलत उत्तर निस्कन्छ।
जस्तै गरे पनि मिल्दैन जिन्दगीको यो ब्यालेन्स–सिट!
…………………………………………………….
न त बाल्कोट चाहर्दा मिल्यो
न त बूढानीलकण्ठ गुहार्दा निस्कियो
न त खुमलटार बसेर आयो
न त नागार्जुन जंगल पसेर ठीक भयो।
जिन्दगीको यो ब्यालेन्स–सिट!

कति दिन असनमा हराउँदा गोलमाल भो
कति दिन जाममा कराउँदा झोल न मोल भो
जिन्दगीको यो ब्यालेन्स–सिट !
……………………………………….
ए सीए महोदय !
एकदमै पछि विकास भएको
कुन चैं सूत्र लगाउँदा
ट्याक्क मिल्छ होला
जिन्दगीको यो ब्यालेन्स–सिट ?
ए वैज्ञानिक महाशय !
संसारको सबैभन्दा पछिल्लो
कुन चैं क्याल्कुलेटरमा जोड्दा
बराबर हुन्छ होला
जिन्दगीको यो ब्यालेन्स–सिट ??

प्रतिक्रिया दिनुहोस्