प्रचण्ड फेरि कार्यकारी भूमिकामा !



काठमाडौंं, (नेस) ।पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाउनुभएको छ। एकीकरणपूर्व अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो।

बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओली स्वास्थ्योपचारका लागि सिंगापुर जाने भएकाले प्रचण्डको अध्यक्षतामा चाँडै सचिवालय बैठक बसेर सांगठनिक एकताका बाँकी कामबारे निर्णय गरिने बताउनुभयो।

सांगठनिक एकीकरणको काम अन्तिम चरणमा पुर्याउनुभएका अध्यक्षद्वय ओली र प्रचण्डबीच सरकारको नेतृत्वमा पनि सहमति भएको बताइएको छ। प्रचण्डले आफूलाई अध्यक्षको जिम्मेवारी दिए प्रधानमन्त्री ओलीलाई आगामी चार वर्षका लागि प्रधानमन्त्रीमा निरन्तरता दिन सकिने बताउँदै आउनुभएको थियो। नेकपाले सांगठनिक एकीकरणको काम सम्पन्न गरेर एक साताभित्रै देशव्यापी अभियान सञ्चालन गर्ने योजना यसअघि नै तय गरिसकेको छ।

सचिवालय बैठकले केन्द्रीय विभाग गठन गर्दै जिम्मेवारी तोकेकाले सांगठनिक कार्य अगाडि बढाउने तयारी प्रचण्डले गर्नुभएको छ। संगठन विभाग प्रमुख वामदेव गौतमले सांगठनिक कामले अब देशव्यापी गति लिने बताउनुभयो। उहाँले आफूलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान संशोधनपछि मात्र कार्यान्वयनमा आउने जानकारी दिनुभयो।

गत साउन ३१ गतेको सचिवालय बैठकले गौतमलाई पार्टीमा उपाध्यक्ष बनाउन स्थायी कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको थियो। पार्टीले गौतमलाई संगठन विभागको प्रमुख र अखिल नेपाल किसान महासंघको इन्चार्जको जिम्मेवारी तोकेको छ।

नेपालको प्रस्ताव अस्वीकृत

नेकपाको सचिवालयमा तत्काल थप सदस्य नथपिने भएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा तीन जना सदस्य थप्न गरेको प्रस्ताव सचिवालय बैठकले अस्वीकृत गरेको हो।

यही भदौ १ गते बसेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन एमाले उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो।

उक्त बैठकमा अध्यक्षद्वयपछिको पहिलो वरिष्ठ नेतामा झलनाथ खनाल र त्यसपछिको वरिष्ठमा नेता आफू रहने निर्णय भएसँगै नेपालले सातबुँदे ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो। नेपालले एक पद, एक जिम्मेवारीको वकालत गर्दै आउनुभएको छ।

संगठन विभाग प्रमुख गौतमले सचिवालयमा सदस्य थप्ने सोचाइ नरहेको र प्रवक्ता श्रेष्ठले नेपालको फरक मतमाथि बैठकमा छलफल नहुने बताउनुभयो।

ओली र नेपालबीच चर्काचर्की

उपचारका लागि बिहीबार सिंगापुर जानुअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाउनुभएको थियो। उक्त बैठकमा पर्याप्त समय नभएकाले एजेन्डामा उहाँको स्वास्थ्यलाभको कामना राखिएको थियो।

‘तर बैठकको शुरूमै अध्यक्ष ओली र वरिष्ठ नेपालबीच भनाभन भयो।’ –एक सचिवालय सदस्यले बताए। उहाँका अनुसार ओलीले एजेन्डामा प्रवेश गर्न नभ्याइने भएकाले स्वास्थ्यलाभको शुभकामना दिएर पठाउन आग्रह गर्नुभएको थियो।

नेपालले आफूले असहमति राख्दाराख्दै थुप्रै निर्णय भएकामा असहमति जदाउँदै केन्द्रीय सदस्य एवं सांसद राजेन्द्र गौतमले आफूविरुद्ध फेसबुकमा लेखेकाले कारबाही गर्न माग गर्नुभएको थियो।

उहाँहरूबीच चर्काचर्की बढेपछि प्रचण्डले ओलीको स्वास्थ्य लाभको कामना गर्दै उहाँ सिंगापुरमा रहेका बेला महत्वपूर्ण निर्णय गर्नुपरे फोनमा कुरा गर्ने र सहमतिकै आधारमा पार्टी चलाउने बताउनुभएको थियो।

प्रचण्ड बोलेपछि महासचिव विष्णु पौडेलले अध्यक्षको स्वास्थ्य लाभको कामना गर्न प्रस्ताव राख्ने क्रममा नेपाल आक्रोशित भएपछि ओलीले ‘तपाईं (नेपाल)को शुभकामना चाहिएन’ भन्ने अभिव्यक्ति दिनुभएको थियो।

यद्यपि उक्त बैठकले ओलीको स्वास्थ्यलाभको कामना प्रस्ताव पारित गर्दै अरू एजेन्डामाथि अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्