के राख्लान् प्रदेश २ को नाम



वीरगन्ज । प्रदेश नम्बर २ को सदनमा बल्ल नाउँ र राजधानीका बिषयमा बहस हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव गरेको छ ।

बिहीबार सकिएको संसदीय दलको बैठकले प्रदेशको नाम जानकी राख्ने निर्णय गरेको हो । त्यस अनुसार नेकपाका सांसदहरुले प्रदेशसभामा नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गरेका हुन् । रामकुमार यादव प्रस्तावक छन् भने ज्वालाकुमारी साह, शारदा थापा र नागेन्द्र राय यादव समर्थक छन् ।

प्रदेशको स्थायी राजधानी जनकपुर परिक्रमा मार्गसहित सिंगो धनुषा जिल्लालाई बनाउन प्रस्ताव गरेका छन् । संसदीय दलका नेता सत्यनारायण मण्डल प्रस्तावक रहेको प्रस्तावमा सुन्दरबहादुर विश्वकर्मा, रबीन्द्र बैठा र नेभी लुंगेली समर्थक छन् ।

सत्तासिन समाजवादी र राजपाले भने प्रदेशको नाउँ मधेश प्रदेश बनाउने प्रश्ताव पेश गर्ने भएका छन् । यी दुबै पार्टीले राजधानी भने जनकपुर नै हुने कुरा उल्लेख गरेका छन् । प्रदेश २ मा हाल यी दुबैको सरकार छ । तर प्रदेशको प्रमुख प्रतिपक्ष पार्टी नेपाली कांग्रेसले प्रदेश २ को नाम मिथिला भोजपुरा राख्ने प्रस्ताव प्रदेशसभामा राखेको छ ।

प्रदेशको स्थायी राजधानी जनकपुर उप महानगरपालिकाभित्र राख्नुपर्नुपर्ने उसको प्रस्ताव छ । प्रदेशको नाम मिथिला-भोजपुरा राख्ने प्रस्तावका प्रस्तावक कांग्रेसका सांसद नरेश कुमार यादवले छन् भने शोभा लामा र उपेन्द्र कुसवाहा समर्थक छन् ।

प्रदेशको राजधानीबारे कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रस्ताव दर्ता गराएका छन । जसको समर्थकमा नरेश कुमार यादव, उपेन्द्र प्रसाद कुसवाहा र सरस्वती चौधरी छन् ।प्रदेश २ सभामा कांग्रेसका १९ जना सांसद छन् ।

प्रदेश नम्बर २ को नाउँ र राजधानीका बिषयमा विवाद छ । बारा र पर्साका नागरिकहरुले जनकपुर राजधानीको बिरोध गरेपनि वीरगन्जमा राजधानी हुने संभावना टरेको छ भने नाउँको बिषयमा नेकपा र काँग्रेस एक ठाउँमा उभिने संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्