गुल्मीमा सम्बन्ध विच्छेद गर्ने बढे



नेपाल समाचारपत्र, गुल्मी। नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएपछि गुल्मीमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन्। गत वर्षको भदौदेखि असारसम्ममा जिल्लामा २ सय ४० जनाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका छन्।

जसमध्ये ९२ जना पुरुष र १ सय ४८ जना महिला रहेका छन्। दर्ता भएका मुद्दामध्ये १ सय ७५ वटा फस्र्यौट भएको जिल्ला अदालत गुल्मीका श्रेष्तेदार कृष्णशरण लामिछानेले बताउनुभयो।

महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सीधै अदालत जान पाउने व्यवस्था भएपछि सम्बन्ध विच्छेदका लागि महिलाको हाराहारीमा मुद्दा दर्ता भएका छन्। नयाँ मुलुकी ऐन लागू भएपछि गत वर्षको भदौमा मात्रै २१ पुरुष र १३ महिलाले सम्बन्ध विच्छेदको माग गर्दै मुद्दा दर्ता गरेका थिए।

त्यस्तै असोजमा ७ जना पुरुष, ९ जना महिला, कार्तिकमा १५ जना पुरुष र २० जना महिलाले मुद्दा दर्ता गराएको जिल्ला अदालतका श्रेष्तेदार लामिछानेले जानकारी दिनुभयो। सम्बन्ध विच्छेदमा लागि मंसिरमा ९ जना पुरुष, १० जना महिला, पुषमा ८ जना पुरुष, १७ जना महिलाले मुद्दा दर्ता गराएका थिए।

त्यस्तै माघमा ४ जना पुरुष, १३ जना महिला, फागुनमा ५ जना पुरुष, १५ जना महिलाले सम्बन्ध विच्छेद गरी पाऊँ भनी मुद्दा दर्ता गराएका थिए। चैत महिनामा ९ जना पुरुष, ९ जना महिला, वैशाखमा ७ जना पुरुष, २० जना महिला, जेठमा ३ जना पुरुष, ११ जना महिला र असारमा ४ जना पुरुष, ११ जना महिलाहरूले जिल्ला अदालतका श्रेष्तेदार लामिछानेले बताउनुभयो।

दर्ता भएर फस्र्यौट भएका मुद्दाहरूमा मिलापत्र भई सम्बन्ध विच्छेद हुने गरेका छन्। फछ्र्यौट हुन बाँकी रहेका मुद्दाहरू एक वर्षसम्म मिलापत्र नभए स्वतः सम्बन्ध विच्छेदको फैसला हुने कानुनी व्यवस्था रहेको श्रेष्तेदार लामिछानेले बताउनुभयो।

विशेष गरी सम्बन्ध विच्छेदका मुद्दा बढनुमा दुवै पक्षको बुझाइमा कमी, वैदेशिक रोजगारीमा गएकाबीच असमझदारी बढ्नु, श्रीमान श्रीमतीबीच अनुशासनको कमीजस्ता मुख्य कारणहरू देखिएको कानुन व्यवसायीहरू बताउँछन्।

सम्बन्ध विच्छेदमा कम उमेरमा विवाह गर्नु, चेतनाको कमी हुनु, दुबै पक्षमा अहम्ता बढनु, पतिले पत्नीको र पत्नीले पतिको जिम्मेवारी उत्तरदायित्व बोध नगर्नु पनि मुख्य कारण देखिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्