सहभागितामूलक विकास र सूचना प्रविधि



रोबर्ट च्याम्बर्स (च्याम्बर्स १९९२)का अनुसार तल्लो तहमा रहेका जनतालाई अगाडि ल्याई उनीहरूको चौतर्फी र दिगो विकास गराउने सशक्त माध्यम जनसहभागिता हो। वास्तवमा अर्थपूर्ण जनसहभागिताविना दिगोे विकासको परिकल्पनासमेत गर्न सकिँदैन।

विकासलाई सामान्यतया प्रस्ट्याउँदा नागरिक वा जनताको जीवनमा आउने सकारात्मक परिवर्तन वा रूपान्तरण भनिन्छ। कुनै पनि विकासले विगतभन्दा आज र भोलिको नागरिकहरूको जीवनस्तर, हैसियत वा अवस्थामा परिवर्तन ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको हुनुपर्छ। विकासलाई कुनै एक व्यक्ति वा निश्चित पात्रले मात्र गरेर हुँदैन, यस प्रक्रियामा नागरिकहरूको अपनत्व, सहभागिता, लगानी र प्रतिफलको उचित बाँडफाँडमा समेत समान हिस्सेदारी कायम भएको हुनुपर्छ।

२१ औं शताब्दी विज्ञान, सूचना, सञ्चार र प्रविधिको युग भएको छ। प्रत्येक क्षणमा भएका प्रविधिको विकासले संसारलाई एक ‘ग्लोबल भिलेज’को रूपमा परिणत गरिदिएको छ। कुनै एक क्षेत्र वा स्थानमा भएको घटना क्षणभरमा विश्वभर फैलिन सक्छ।

यस भूमण्डलीकृत विश्वमा सबै विषयको नियन्त्रण वा व्यवस्थापन प्रविधिसँग जोडिएको छ र हाल आएर आर्टिफिसियल (एआई) नै मानवको चुनौतीको रूपमा देखा पर्दै गएको छ।

यसका विषयमा गम्भीर बहसहरू भइरहेका छन्। त्यसकारण अबको विकास प्रक्रियालाई सूचना र प्रविधिसँग कसरी एकाकार गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनु जरुरी भइसकेको छ। यस आलेखमा सहभागितामूलक विकासमा सूचना प्रविधिको आवश्यकता वा औचित्यलाई प्रस्ट्याउन खोजिएको छ।

सहभागितामूलक विकास
समावेशी लोकतान्त्रिक व्यवस्थामा जनसहभागिता भन्ने पक्ष सँगै जोडिएर आउँछ वा अलग गर्नै सकिदैन। यस समावेशी लोकतान्त्रिक व्यवस्थालाई जनसहभागितामूलक व्यवस्था पनि भन्न सकिन्छ।

किनभने यसमा नागरिकका विकासका आकांक्षाहरू सहजरूपमा सम्बोधन हुने तथा प्रतिफलहरूको न्यायोचित बाँडफाँड तथा वितरण हुने विश्वास गरिन्छ। सन् १९७० पश्चात् विकासमा जनसहभागिताको विषय सशक्तरूपमा उठेको देखिन्छ।

त्यसैले निर्णय प्रक्रियामा सहभागी भई सेवा प्रवाहलाई प्रभावकारी बनाउन, राज्यप्रति उत्तरदायित्व निर्वाह गर्न, विकासका आकांक्षाहरू सम्बोधन गर्न, सीमान्तकृत एवं पछाडि पारिएका वर्ग–समुदायको विकासको प्रतिफल परिणाममुखी बनाउन पनि सहभागिताको आवश्यकता पर्छ। यसकारण पनि पछिल्लो समयमा समावेशीकरण भन्ने विषय टड्कारो तथा अभिन्नरूपमा आएको छ।

विकासका सन्दर्भका हिसाबले कुरा वा नारामा जनसहभागिताका कुरा गर्ने वा नीति तथा कानुन पनि सहभागितालाई अर्थपूर्ण बनाउने विषयमा निर्माण गर्ने तर व्यवहारमा फेरि पनि प्रक्रियामा होस् वा लाभको वितरण गर्ने सवालमा होस्, हुनेखानेहरूकै मात्र सहभागिता भएको देखिन्छ।

निर्णय र कार्यान्वयन प्रक्रियामा नागरिकहरूको उचित तथा समतामूलक तवरमा सहभागिताको सुनिश्चित नभएसम्म विकास भन्ने प्रक्रिया आफैंमा अपूरो हुन्छ र कहिल्यै पनि दिगो हुन सक्दैन। किनकि नागरिकहरूमा विकासप्रति अपनत्व भन्ने पक्ष नै हुँदैन।

सूचना प्रविधि
विश्वलाई यति बेला सूचना र प्रविधिले एउटा सञ्जालभित्र ल्याइपु¥याएको छ र सूचना प्रविधिको अधिक विकासले मानवको दैनिक व्यवहारलाई समेत परिवर्तन गरेको यथार्थ हाम्रो सामु छ। सूचना प्रविधिले विद्यमान अवस्थामा हाम्रा प्रत्येक गतिविधिहरूका साथै जीवनशैली नै बदलिदिएको छ।

यस परिवर्तित अवस्थामा सूचना र प्रविधिको उचित प्रयोगमा विपन्न, जोखिममा परेका तथा पछाडि पारिएका वर्ग–समुदायको पहुँच र प्रयोगको जरुरी छ। नेपालको मात्र अवस्थालाई हेर्ने हो भने, औसतमा प्रत्येकको हातमा मोबाइल पुगेको तथ्यांकले बताउँछ, अहिले हेर्दा इन्टरनेटको पहुँचसमेत बिस्तारै फराकिलो बन्दै गएको छ। यसले के देखाउँछ भने, व्यक्तिको निर्णय प्रक्रिया वा जानकारीसहितको निर्णय गर्न पनि वास्तवमा सूचना प्रविधिको ठूलो हात छ।

आजकल युवायुवती तथा किशोरकिशोरीहरूको त झन् सूचना तथा प्रविधिमा ठूलो चासो रहेको देखिन्छ। यसको दुरूपयोगले व्यक्तिलाई नकारात्मक बाटोमा समेत धकेल्छ, सूचना तथा प्रविधिको गलत प्रयोगले आज मानिसहरूले साइबर क्राइमअन्तर्गत विभिन्न खालका अनाहकमा दुःखहरूसमेत बेहोर्नु परिरहेको छ।

जुन घरमा इन्टरनेटको सुविधा छ, त्यहाँ व्यक्तिहरू एक–अर्कामा कुरा गर्दैनन्, कुरा त हुन्छ तर कुनै त्यो घरभन्दा बाहिर रहेको व्यक्तिसँग मात्र। यसरी हेर्दा सूचना प्रविधिले हाम्रो जीवनशैली फेरिदिएको छ र हामीलाई हाल आएर जबर्जस्तीरूपमा प्रविधिसँग एकाकार हुन बाध्य बनाइरहेको छ।

प्रविधिले हाम्रो जीवनपद्धतिलाई सहजसमेत बनाएको छ। हामीले क्षणभरमै धेरै काम सजिलैसँग गर्न सक्छौं। यसले हाम्रो सञ्चार प्रणालीमा आकाश–पातालको फरकपन ल्याएको छ र दिनानुदिन यसको प्रयोगमा बढोत्तरीका साथै नयाँ–नयाँ आविष्कारहरूसमेत भइरहेका छन्।

हभागितामूलक विकासका लागि हाल तीव्रगतिमा बढेको सूचना र प्रविधिलाई अर्थपूर्ण तरिकाले अँगाल्न सकियो, यसको सकारात्मक प्रभाव नागरिकस्तरसम्म पु¥याउन सकियो, उनीहरूको इच्छा–आंकाक्षा सम्बोधन हुने गरी योेजना निर्माण, कार्यान्वयनका साथै महसुस हुने गरी विकासका प्रतिफल वा नतिजाको बाँडफाँड न्यायोचित हुन सक्यो भने जनताको सहभागिता अनपेक्षित तवरमा वृद्धि हुन्छ अनि अपनत्वसहितको दिगो विकास हुन्छ।

अन्तरसम्बन्ध
जनसहभागितामूलक विकासले सकारात्मक परिवर्तन वा रूपान्तरणको मार्गलाई सहज बनाउँछ वा यसले समावेशीकरणलाई सुनिश्चित गर्छ भन्दै गर्दा, विकास प्रक्रियामा नागरिकहरूलाई सहभागी बनाउने विधि वा पद्धतिमा फरकपन आएको देखिन्छ।

विकासमा नागरिकहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न योजना निर्माण प्रक्रिया पनि सहभागितामूलक विधिमार्फत हुनुपर्छ भनी प्रयोगसमेत भइराखेको छ। तर विद्यमान अवस्थामा सहभागितामूलक विकासलाई मूर्तरूप दिनका लागि सूचना तथा प्रविधिको पहुँचलाई नागरिकसम्म विस्तार गर्नै पर्ने भएको छ। विकास प्रक्रियामा नागरिकहरूको सहभागिता नहुनुका थुप्रै कारणहरू रहेका छन्।

समयमा जानकारी नपाउनु, सधैँ अरूले नै पाउँछन् हामी गएर के हुन्छ भन्ने सोच वा मानसिकता, योजना निर्माण तथा कार्यान्वयन प्रक्रियामा हुनेखानेकै पहुँच तथा नियन्त्रण, नीतिगत प्रक्रिया तथा प्रावधानको प्रभावकारी कार्यान्वयन नगर्नु, तथ्यमा आधारित पैरवी नहुनु आदिले गर्दा समेत सहभागितामा असर गरेको देखिन्छ।

सुशासनको दृृष्टिकोणले समेत सरकारले सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन सूचना प्रविधिलाई अँगालेको छ भने सरकार, सेवाप्रदायक तथा सरोकारवालाहरूका आफ्नै वेबसाइट, नागरिक बडापत्र, मोवाइल एप्स, सामाजिक सञ्जालका विभिन्न माध्यमहरू रहेका छन्। उनीहरूले विकास तथा अन्य विषयसँग सम्बन्धित सूचना तथा जानकारीहरू तिनै सञ्चारका माध्यमबाट प्रवाह गरेका हुन्छन्।

अनि त्यस्ता माध्यममा जसको पहुँच हुन्छ उसको मात्र सहभागिता हुन्छ। भनिन्छ, सूचना शक्ति हो। त्यस कारणले गर्दा पनि एकातिर प्रत्येकजसो नेपालीको हातमा मोबाइल छ भन्ने तथ्यांक छ, तर त्यसको सही प्रयोगले सबै प्रकारका सेवाप्रदायकहरूले के–कस्ता कार्यक्रम वा गतिविधिहरू गरिरहेका छन् भन्ने कुरा मोबाइलजस्ता प्रविधिका माध्यमबाट नागरिकहरूलाई सहजरूपमा जानकारी प्रदान हुने भयो। वास्तवमा विकासका गतिविधिले हाम्रो जीवनमा सकारात्मक परिवर्तन गर्छन्।

योजना हाम्रै लागि हो एवं हाम्रो कर संकलनबाट उठेको रकम नै विकासका लागि आउने बजेट हो भन्ने आत्मसात् गराउन सकेमा नागरिकको सहभागितामा पक्कै वृद्धि हुन्छ। त्यस्ता माध्यममा नागरिकलाई चित्त नबुझेको विषयमा जिज्ञासा राख्ने, प्रश्न गर्ने तथा त्यसको जवाफ पनि आउँछ भन्ने कुरा निश्चित गर्न सकियो भने झन् नागरिकहरूको सहभागितामा वृद्धि हुन्छ।

सहभागितामूलक विकासलाई सूचना प्रविधिसँग जोड्नका लागि अब सरकारले प्रयोग गर्ने विभिन्न सञ्चारमाध्यमहरूको बारेमा सबैलाई जानकारी गराउने र प्रतिबद्धताबमोजिम सूचनाहरू पनि नियमितरूपमा अद्यावधिक गर्ने। नागरिकहरूलाई बस्ती–बस्तीमा पुगेर प्रयोग भइरहेका सञ्चारमाध्यमको प्रयोग गर्ने तरिका, यसका फाइदा तथा बेफाइदाका बारेमा समेत व्यावहारिक अभिमुखीकरण गराउने।

उक्त माध्यमबाट आएका जिज्ञासा र प्रश्नहरूको जवाफ यथाशीघ्र प्रदान गर्ने। यस्ता विषयले नागरिकहरूको विश्वास र अपनत्व पैदा गर्छ। अनि यस्ता पक्षले नागरिकलाई भरोसा सृजना भएपछि स्वतस्फूर्त उनीहरूको सहभागितामा समेत वृद्धि हुन्छ। जब सेवाप्रदायकले दिएको सेवाले नागरिकको मन छुन्छ, त्यसपछि उनीहरूको सहभागिता नीति, योजना निर्माण प्रक्रियादेखि यसको अनुगमन र मूल्यांकनसम्म रहन्छ।

निष्कर्ष

हालको सूचना प्रविधिको विकासलाई हेर्ने हो भने, अब यसको द्रुततर विकाससँगसँगै सहभागितालाई समेत एकाकार गर्नु आवश्यकता देखिएको छ। पुनर्संरचित राज्यको संयन्त्रअन्तर्गत संघीय, प्रान्तीय तथा प्रत्येक स्थानीय तहहरूले आफ्नो इकाइलाई सकेसम्म डिजिटल बनाउने र यसको माध्यमबाट सूचना प्रवाह गर्ने भन्ने छ र गरी पनि रहेका छन्। कुनै–कुनै स्थानीय तहले मोबाइल एप्ससमेत निर्माण गरेका छन्। प्रतिबद्धताका हिसाबले, प्रविधिमैत्री बनाउने सबै तहका सरकार कटिबद्ध छन्।

सबै सरोकारवालाहरूले आफ्ना नीति, कार्यक्रममा तथा गतिविधिहरूमा कसरी नागरिकको सहभागिता सुनिश्चित गर्ने भन्ने विषय प्रविधिका विभिन्न माध्यमबाट मात्र सफल हुन सकिन्छ। अब विभिन्न सेवाप्रदायक, सबै तहको विशेष गरी स्थानीय तहले निर्माण गर्ने विभिन्न लामो तथा छोटो अवधिका योजनाहरू एवं पाश्र्वचित्रहरूसमेत प्रविधिमैत्री बनाउने भन्ने छ।

यस्तो प्रक्रियामा नागरिकको अर्थपूर्ण सहभागिता भएको छैन, न त जनतालाई भौतिकरूपमै भए पनि बस्ती–बस्ती पुगेर, घरदैलो पुगेर थाहा दिने काम भएको छ, न त प्रविधिलाई जनमैत्री, जनस्तरसम्म पुग्ने गरी निर्माण गरिएको छ। तर प्रविधिमैत्री सेवाप्रदायक मात्र भएर पुग्दैन, सेवाग्राही पनि उत्तिकै अभ्यस्त हुनुपर्छ। यसको लागि पहिलो सर्त भनेकै नागरिकलाई यसमा पहुँच र फाइदाको बारेमा जानकारी हुन जरुरी छ। यसका लागि सेवाप्रदायकले सरकारको नीतिगतरूपमै व्यवस्था भएको प्रावधानअनुरूप कार्य गर्न सकेमा मात्र पनि सुनमा सुगन्ध हुन्छ

। सहभागितामूलक विकासका लागि हाल तीव्रगतिमा बढेको सूचना र प्रविधिलाई अर्थपूर्ण तरिकाले अँगाल्न सकियो, यसको सकारात्मक प्रभाव नागरिकस्तरसम्म पु¥याउन सकियो, उनीहरूको इच्छा–आंकाक्षा सम्बोधन हुने गरी योेजना निर्माण, कार्यान्वयनका साथै महसुस हुने गरी विकासका प्रतिफल वा नतिजाको बाँडफाँड न्यायोचित हुन सक्यो भने जनताको सहभागिता अनपेक्षित तवरमा वृद्धि हुन्छ अनि अपनत्वसहितको दिगो विकास हुन्छ।

(लेखक नेपाली सुशासन, सामाजिक समावेशीकरण, क्षमता विकास, पैरवी एवं योजना विज्ञको परामर्शदाताको रूपमा सक्रिय हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्