मकवानपुरमा लेखन कार्यशाला



हेटौंडा, (नेस)। फिल्मलाई बौद्धिक बहससँगै व्यवस्थित ढंगले व्यावसायिक बनाउने लक्ष्यका साथ मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहानगरको पर्यकीय क्षेत्र चित्लाङमा पटकथा लेखन कार्यशाला शुरू भएको छ।


चलचित्र विकास बोर्ड र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा शुरू भएको पटकथा लेखन कार्यशालामा ४० जना सहभागी छन्।

कार्यशालाको शुभारम्भ गर्दै प्रदेश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले फिल्मबाट देश झल्किने भएका कारण स्तरीय कथा, संगीत र दृष्य हुन जरुरी रहेको चर्चा गरे।

उनले दोलखाको डाङ्डुङेलाई फिल्म सिटी बनाउन डीपीआर निर्माण शुरू भइसकेको जानकारी पनि गराए।

बोर्ड अध्यक्ष केशव भट्टराईले पटकथा लेखन तालिम अहिलेको सबैभन्दा बढी आवश्यकता भएका कारण विदेशी प्रशिक्षकसमेत ल्याएर कार्यशाला गरिएको जनाए।

कार्यशालामा हलिउडका पटकथा लेखक जेफ मोनाहान र भारतीय पटकथा लेखक रोबिन भट्टले सहजीकरण गर्ने उनले बताए। कार्यशालामा सम्पदा मल्लले सहजीकरण गर्ने प्रतिष्ठान अध्यक्ष केपी पाठकले जानकारी गराए।

कार्यशाला समाप्त भएको २ हप्ताभित्र प्रत्येक सहभागीले तयार पारेको कथामा बढीमा १५ देखि ३० मिनेटसम्मको फिल्म हुने गरी पूरा स्क्रिप्ट प्रतिष्ठानमा बुझाउनुपर्ने र त्यसमध्ये उत्कृष्ट स्क्रिप्टलाई फिल्म निर्माणका लागि नगद एक लाख प्रदान गरिने जनाइएको छ।

यसरी निर्माण भएको फिल्मलाई नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)को तेस्रो संस्करणमा सहभागी गराइनेछ।

कार्यशाला शुभारम्भ कार्यक्रममा फिल्मकर्मी नीर शाह, लेखक तथा निर्देशक शिवम् अधिकारी, पटकथाकार सामिप्यराज तिमल्सिना र कलाकार आयुष रिजाललगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्