चलचित्र निर्देशक रानाको निधन



विदुर गिरी, काठमाडौं ।व्यावसायिकदेखि सामाजिक र ऐतिहासिक चलचित्रलाई उत्तिकै न्याय दिन सक्ने फिल्म लेखक तथा निर्देशक किशोर रानाको निधन भएको छ।

करिब दुई वर्षअघि मृगौलाले काम गर्न छोडेपछि प्रत्यारोपण गराएका रानाले बुधबार दिउँसो करिब साढे ३ बजे ललितपुरस्थित निदान अस्पतालमा अन्तिम श्वास फेर्नुभयो।

६४ वर्षीय राना निमोनिया भएपछि गत सोमबार अस्पताल भर्ना हुनुभएको थियो। उहाँ दुई दशकदेखि मधुमेहबाट पीडित हुनुहुन्थ्यो।

गायिका तथा संगीतकार संगीता प्रधानका पति रानाको परिवारमा एक छोरा छन्। ‘छोरा बेंगलोरमा छ। भोलि (आज बिहीबार) रातिको फ्लाइट छ।

ऊ आएपछि मात्र अन्तिम संस्कार हुन्छ। अहिलेलाई उहाँको पार्थिव शरीर टिचिङ हस्पिटलमा राखिनेछ।’ –किशोरका फिल्म निर्देशक भाइ रनजित रानाले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।

गुल्मीमा जन्मेका रानाको हजुरबुबा बसाइँ सरेपछि धरान बसोबास भयो। उहाँले पहिलोपटक प्रतिबिम्ब नामक फिल्म निर्देशन गर्नुभएको थियो भने कर्जा, करोडपति, सीमारेखा, उपकरण, एक नम्बरको पाखे, घामछायाँ, घुम्टो, शिवशक्ति, बन्धकी, सन्तानको माया जस्ता फरक परिवेशका फिल्म निर्देशन गरेर भिन्न परिचय स्थापित गर्नुभएको थियो। राना नेपालबाट बनेको पहिलो भोजपुरी फिल्म कब होई मिलनवा हमारको पनि निर्देशक हुनुहुन्थ्यो।

सानै उमेरमा भारत पस्नुभएका उहाँ त्यहाँ काम गर्दागर्दै फिल्म निर्देशनमा आकर्षित हुनुभएको थियो भने सडकमा भेटिनुभएका गोपाल भुटानीले उहाँलाई सामान्य कामदारका रूपमा बलिउडमा प्रवेश गराउनुभएको थियो।

हिन्दी फिल्म खुदा गवाहको लोकेसन व्यवस्थापक रहनुभएका किशोरले अन्धा कानुन, जोन जोनी जनार्दन, मुझे इन्साफ चाहिए, घर–घरकी कहानीलगायत दर्जनौं हिन्दी फिल्ममा मुख्य सहायक निर्देशक भई काम गर्नुभएको थियो।

उहाँं भन्ने गर्नुहुन्थ्यो– ‘ममा ठूलो महत्वकांक्षा थिएन। त्यसैले नेपाल फर्कें। फेरि उता बस्दा सहायक भएर काम गर्नुपथ्र्यो, यता डाइरेक्टर भएर काम गर्न पाउँथें।’

फिल्म लेखक, निर्देशक तथा अभिनेता नीर शाह भन्नुहुन्छ– ‘मैले उहाँसँग थुप्रै फिल्ममा काम गरें। उहाँ एक उत्कृष्ट निर्देशक हुनुहुन्छ। उहाँको निधनले नेपाली सिनेमा क्षेत्रले एक उत्कृष्ट निर्देशक गुुमाएको छ।’

शाहको अनुभव छ– ‘एउटा निर्देशकभित्र प्राविधिकरूपमा हुनुपर्ने उत्कृष्टता उहाँमा थियो। क्यामरा सञ्चालन र फ्रेमिङमा उहाँको विशेष दक्षता थियो।’ रानालाई केही समयअघि राष्ट्रपतिबाट २०७४ सालका लागि नगद ३ लाख ५१ हजार १ सय ११ रुपियाँसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्