नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक : पुरानै एजेन्डामा केन्द्रित,  पुनर्निर्माणका लागि अढाइ  अर्ब सहयोग



टीका बन्धन, काठमाडौं । भुकम्पपछिको पुनर्निर्माणका लागि भारतले २ अर्ब ४५ करोड रुपियाँभन्दा बढीको सहयोग उपलब्ध गराएको छ। नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले नेपाललाई २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपियाँ हस्तान्तरण गरेको हो।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकम बराबरको सहयोगको चेक हस्तान्तरण गर्नुभएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका भारतीय समकक्षी डा. सुब्रमन्यम जयशंकरको उपस्थितिमा शुरू भएको बैठकमा भारतले नेपाललाई आर्थिक सहयोग उपलब्ध गराएको हो।

पुनर्निर्माणका लागि भारतले विगतमा गरेको प्रतिबद्धताअनुसार सहयोग रकम हस्तान्तरण गरेको प्राधिकरणले जनाएको छ। चार वर्षअघिको भूकम्पपश्चात् भारतले २५ अर्ब रुपियाँ पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

सो सहयोगबाट १० अर्ब रुपियाँ निजी आवास निर्माणका लागि, ५ अर्ब स्वास्थ्य संस्थालाई, ५ अर्ब विद्यालय र ५ अर्ब सम्पदा पुनर्निर्माणका लागि सहयोग गर्ने बताएको थियो। ५० हजार निजी आवास निर्माणका लागि सहयोग गर्ने भारतीय प्रतिबद्धताअनुसार बुधबारको सहयोग रकम सोही शीर्षकमा खर्च हुने प्राधिकरण स्रोतले जनाएको छ।

भारतले सम्पदा र विद्यालयलाई थप सहयोग गर्न चाहेको बताइएको छ। बुधबार अपरा≈न काठमाडौंमा आयोगको पाँचौं बैठक शुरू भएको छ। निर्धारित समयभन्दा करिब दुई घन्टा ढिलो गरी शुरू भएको बैठकमा कनेक्टिभिटी, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत जस्ता विषयमा केन्द्रित हुने भएको छ।
शिक्षा र द्विपक्षीय सांस्कृतिक सहकार्य पनि बैठकका मुख्य एजेन्डा तय गरिएको छ। यो जमघटमा नेपालले विगतमा भएका सहमति कार्यान्वयनसँगै आर्थिक साझेदारी र भारतसँगको बढ्दो घाटा न्यूनीकरणमा जोड दिन चाहिरहेका बेला भारतले सीमा क्षेत्रको सुरक्षाबारे चासो लिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
बुधबारको बैठकमा नेपालतर्फको अध्यक्षता परराष्ट्रमन्त्री ज्ञवालीले गर्नुभएको थियो भने भारतीय पक्षको अध्यक्षता जयशंकरले गर्नुभएको थियो। दुईदिने बैठकको पहिलो दिन सकारात्मक छलफल भएको बताउँदै जयशंकरले ट्विट गर्नुभएको छ। ‘द्विपक्षीय सम्बन्धका प्राथमिकताबारे विस्तृतरूपमा पुनरावलोकन भएको छ, द्विपक्षीय सहयोगका प्राथमिकता क्षेत्र पहिचान भएको छ।’
–उहाँले आफ्नो ट्विटमा उल्लेख गर्नुभएको छ। बंगलादेश भ्रमणमा रहनुभएका उहाँ बुधबार सोझै ढाकाबाट काठमाडौं आउनुभएको हो। यसपटकको बैठकमा कुनै नयाँ एजेन्डा तय नभएको बैठकमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

‘यो बैठकमा कुनै नयाँ एजेन्डामाथि छलफल भएको छैन, विगतमा भएका सहमति सहकार्य कार्यान्वयनका विविध पक्षमा छलफल भएको छ’, ती अधिकारीले भने– ‘विगतका सहमति कार्यान्वयनमा भइरहेको ढिलासुस्तीका बारेमा समेत चर्चा भएको छ।’

दुवै मुलुकका तर्फबाट विगतमा भएका उच्चस्तरीय भ्रमणका क्रममा भएका प्रतिबद्धता, सहयोग कार्यान्वयनको मूल्यांकनबारे पनि छलफल हुने उनले प्रस्ट्याए।

दुवै मुलुकका समस्या र साझा मुद्दा पहिचान गर्दै समस्या समाधानका उपाय खोज्ने र दुवैतर्फका सरोकारवाला निकायलाई निर्देशन दिने उद्देश्यका साथ सन् १९८७ मा यस्तो संयन्त्र गठन भएको थियो। आयोगले पहिचान गरेका विषय उच्चस्तरीय भ्रमणका एजेन्डा बन्ने गरे पनि बैठक नियमित बन्न सकेको छैन।
चौथो बैठक यसअघि सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो भने तेस्रो बैठक आयोग स्थापना भएको २३ वर्षपछि सन् २०१४ मा काठमाडौंमा भएको थियो।
जयशंकरको नेपाल भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

नेपालले चार वर्षअघि संविधान जारी गर्ने अन्तिम तयारी गरिरहेका बेला संविधानबारे चासो लिँदै भारतका विदेश दूत बनेर उहाँ नेपाल आएर फर्किएपछि नेपाल–भारत सम्बन्ध चिसिएको थियो। भारतीय इच्छाविपरीत नेपालले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दीसमेत लगाएको थियो।

२०७२ असोजमा भारतीय विदेश सचिवका रूपमा नेपाल आउनुभएको जयशंकर अहिले विदेशमन्त्रीका रूपमा काठमाडौैं आउनुभएको छ। यो भ्रमणबाट उहाँले नेपाललाई हेर्ने दृष्टिकोण बदलिन सक्ने परराष्ट्र मामिलाका जानकार बताउँछन्।

यही बैठक र भ्रमणका क्रममा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार गरेको प्रतिवेदन हस्तान्तरणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

बुधबार दिउँसो जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्नुभएको भेटवार्ताका क्रममा द्विपक्षीय चासोका विविध विषयका अतिरिक्त यो विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

ईपीजी प्रतिवेदनमा नेपालका एजेन्डा हावी भएको र यसमा भारतीय पक्षले संशोधनपश्चात् मात्र प्रतिवेदन बुझ्न चोहेको चर्चा हुँदै आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा गठन भएको समूहले उहाँहरू नै प्रधानमन्त्री भएका बेला प्रतिवेदनलाई अन्तिम रूप दिए पनि भारतले बुझ्न चाहेको छैन।
भारतीय पक्षले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको गृहकार्य अघि बढाइरहेका बेला भएको जयशंकरको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री ओली आज बिहीबार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने कार्यक्रम तय भएसँगै जयशंकरले बुधबार नै ओलीसँग भेटवार्ता गर्नुभएको बताइएको छ।

ओली–जयशंकर भेटवार्ता लम्बिएपछि आयोगको बैठक करिब दुई घन्टा ढिलो शुरू भएको थियो। जयशंकरले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै हुनुहुन्छ।

 तस्वीर ः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्