ठग्न खोज्ने प्रजा पक्राउ



नेपाल समाचारपत्र, हेटौंडा । विपन्नताको फाइदा उठाई प्रजा समुदायका मानिस ठगी गर्ने गिरोहका पाँच जना प्रजा थरका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको माछापोखरी चोकमा चितवनको राप्ती नगरपालिकाका सन्तोष प्रजा र जगमणि प्रजासँग घर बनाइदिने भन्दै फारम भरेबापत् २ हजारका दरले रकम असुल गर्दैगर्दा उनीहरू पक्राउ परेका हुन्।

यसरी पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ–५का दानियल भनिने श्यामबहादुर प्रजा, विनोद प्रजा, दीपक प्रजा, प्रिन्स भनिने राजकुमार प्रजा र राज प्रजा रहेका प्रहरीले जानकारी दिएको छ। उनीहरूमाथि १५ करोड कमाउने प्रपञ्चका साथ ठगीमा संलग्न भएको आरोप छ।

मकवानपुर र चितवनको चेपाङ बस्तीमा ३ सय वटा घर बनाइदिने भन्दै ठगी गर्ने गिरोह नै काठमाडौंमा पक्राउ परेको हो। उनीहरूले घर बनिसकेपछि प्रतिघर ५ लाख रुपियाँ दिनुपर्ने कागज समेत विपन्न प्रजालाई गराएको बताइएको छ।

आर्थिकरूपमा अतिविपन्न चेपाङहरू बारम्बार ठगिँदै आएका छन्। यही शृंखलामा मकवानपुरका चेपाङ समुदायलाई ठगी गर्ने ५ प्रजा (चेपाङ) लाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको हो।

पाखोबारी, भीरपहरा, नजिकैको जंगल आसपासमा स–साना झुपडी बनाई प्रजा समुदाय बसोबास गर्दै आएको छ। थोरै अन्न र वनजंगलको कन्दमूल, वनस्पति र फलफूलको भरमा जीविकोपार्जन गर्ने प्रजाको सामाजिक आर्थिक अवस्था अतिकमजोर रहेको पाइन्छ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा सूचीकृत ५९ जनजातिमध्ये चेपाङ (प्रजा) एक हो। २०६८ को जनगणनाअनुसार चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ छ। चेपाङ बाहुल्य जिल्ला मकवानपुरमा १९ हजार २ सय ३३ चेपाङ रहेको तथ्यांक छ।

नेपालमा प्रजाहरू विशेष गरी मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँमा छरिएर बसेको पाइन्छ। मकवानपुर र चितवनको चेपाङ बस्तीमा ३ सय वटा घर बनाइदिने भन्दै ठगी गर्ने गिरोह नै काठमाडौंमा पक्राउ परेको हो। उनीहरूले घर बनिसकेपछि प्रतिघर ५ लाख रुपियाँ दिनुपर्ने कागज समेत विपन्न प्रजालाई गराएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्