नक्कली कागजात बनाउँदै ठगी



काठमाडौं, (नेस)।  नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विगतमा मेजुकी जापानिज ल्याङ्वेज ईन्सिच्युटका संचालक नागार्जुन नगरपालिका–८ का विनोद बरूवाल र काठमाडौं महानगरपालिका–१५ किमडोलकी रेनु लामा रहेका छन्।

विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका महत्वपूर्ण कागजात तथा छापको दुरुपयोग भइरहेको भन्ने सूचनाका आधारमा सो महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा जारी भएको राहदानी १७ थान, डिलक्स लेखिएको विभिन्न विद्यार्थीको नामसहित विवरण भएको रजिष्ट्रर ४ थान, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका नाम भएका रबर छाप ३९ थान, विभिन्न कम्पनीका पेनड्राइभ ११ थान र विभिन्न व्यक्तिको नाममा रहेको प्रमाणपत्रसमेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्