लोकन्थलीमा पहिरोका कारण पाँच घर जोखिममा



नेपाल समाचारपत्र, भक्तपुर। सूचना ,संचार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंगलबार लोकन्थलीमा गएको पहिरोको स्थलगत अवलोकन गर्नुभएको छ। स्थलगत अवलोकनपछि संचारमन्त्री बाँस्कोटाले पहिरोबाट थप क्षती हुननदिन सरकार सचेत रहेको बताउनुभयो।

उहाँले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरी जोखिममा परेका घर ,सडक र सो क्षेत्रको सुरक्षाको लागि तत्काल र दीर्घकालीन काम गर्ने बताउनुभयो। पहिरो गएको स्थानको सांसद् महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जिल्ला विपद् व्यवस्थापनका सदस्य, जनप्रतिनिधि, सुरक्षा प्रमुख, पत्रकारसहितको टोलीले बिहान अवलोकन गरेको छ।

पहिरोका कारण ५ घर जोखिममा परेका छन् भने १ घरलाई खाली गराइएको छ। पहिरोले लोकन्थलीको सो क्षेत्रको सडक समेत अवरुद्ध भएको छ ।

थप क्षति नहोस् भनेर तीनै तहका सरकारको समन्वयमा जोखिममा परेका घर र परिवारलाई सुरक्षित व्यवस्थापन स्थानीयस्तरमै गरिएको र थप क्षति नहोस् भनेर अहिले सो क्षेत्रमा सुरक्षाकर्मीको तैनाथ गरिएको सांसद् महेश बस्नेतले बताउनुभयो।

उहाँले सो क्षेत्रमा पहिरोको जोखिम दीर्घकालीनरूपमा समाधान गर्न योजनाको पहल प्राथमिकताका साथ गर्ने बताउनुभयो। मंगलबार बिहान पौने २ बजेतिर पहिरो खसेको हो। मध्यपुरठिमी नगरपालिका–१का अध्यक्ष सुरज खड्काले घर भने कुनै पनि नचर्किएको बताउनुभयो।

पानी ट्यांकी निर्माणमा सावधानी नअपनाउँदा पहिरो गएको र घरहरू जोखिममा परेका स्थानीय बताउँछन्। पहिरोका कारण सो स्थानको बाटो भत्किएर पैदल हिँडडुल गर्नसमेत गाह्रो भएको छ।

जहाँ पानी ट्यांकी बनाउने भनेर खनिएको छ, त्यो ठाउँ भिरालो छ। वडा अध्यक्ष खड्काकाअनुसार अघिल्लो वर्ष पनि त्यहाँ डेढ फिट भत्किएको थियो। त्यसलाई सामान्य मर्मत गरियो। तर राम्रोसँग मर्मत नगरेकाले अहिले पहिरो गएको वडा अध्यक्ष खड्काको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्