२७ खेलको तयारी सुरु: भलिबल संघले दुइ खेलाडीलाई बाहिर राख्यो



काठमाडौं । आगामी मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग का लागि समावेश २७ खेलको तयारी सुरु भइसकेको छ । तयारी सबै टोलीले सुरु गरिरहँदा राष्ट्रिय खेल भलिबल पनि ठूलो पदकको अपेक्षासहित तयारीमा जुटेको छ ।

विशेषत भलिबल संघले महिला टोलीबाट स्वर्णको अपेक्षा राखेको छ । प्रारम्भिक छनोटमा नै विवादित महिला भलिबल टोलीलाई प्रशिक्षक जगदिश भट्टले अभ्यास गराइरहेका छन् । छनोटमै विवादमा परेका प्रशिक्षक भट्ट नयाँ खेलाडीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिरहेका छन् । उनले प्रारम्भिक छनोटमा कप्तान र उपकप्तानलाई नअटाएपछि सर्वत्र आलोचना पनि भएको थियो ।

२५ सदस्यीय प्रारम्भिक टोली छनोट गर्दा अनुभवी खेलाडी तथा कप्तानसमेत रहेकी विनिता बुढाथोकी र उपकप्तान मञ्जु गुरुङ अटाउन सकेनन् ।
भलिबल संघले बनाएको छनोट समितिले जानकारी नै नदिई दुइ खेलाडीलाई बाहिर राख्यो । ती दुई खेलाडीले आपत्ति जनाए पनि भलिबल संघले उनीहरुलाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन् ।

यद्यपि पुराना खेलाडीलाई बिदाइ गर्दै नयाँ खेलाडीलाई स्वागत गर्ने भलिबल संघ बताउँछ । त्यसो त घरेलु मैदानमा हुने खेलमा समर्थकको मायासँगै बिदाई लिने खेलाडीको चाहना हुन्छ । तर, संघले अपरिपक्व व्यवहारका कारण भन्दै उनीहरुलाई समर्थकको मायाका बीच बिदाई हुने अवसरबाट वञ्चित बनाएको छ ।

यता प्रशिक्षक भट्ट टोलीलाई विशेष योजनासहित अभ्यास गराइरहेको बताउँछन् । उनी टोलीमा आएको सकारात्मक परिवर्तनले सफल नतिजा आउने दाबी गर्छन् । खेलाडी छनोटमा विवादित बनेका भट्टले त्यसको जवाफ अबको केही दिनमै आउने बताए । “हामी भलिबलमा परिवर्तन चाहन्छौँ । खेलाडी छनोटमा पनि, हामीले धेरै पछिसम्मको लागि भनेर नेपाली टोलीको छनोट गरेका हौं । त्यसको रिजल्ट चाँडै आउनेछ । नयाँ खेलाडीले अवसर पाउनु हुन्न भन्ने पनि होइन,” प्रशिक्षक भट्टले भने ।

भलिबलको अहिले अभ्यास गरिरहेकोे टोलीमा विभागीय टोलीका खेलाडीसँगै प्रदेशका खेलाडीले पनि स्थान बनाएका छन् । जसमा सबैभन्दा धेरै प्रदेश पाँचका खेलाडी छन् । प्रशिक्षक भटट्ले भने, “यो पटक प्रदेश स्तरका खेलाडीहरुले पनि टिममा स्थान बनाउने क्षमता बनाएका छन् । सुरुवातमा प्रदेशका खेलाडीहरु शारीरिक रुपमा केही कमजोर भए पनि उनीहरुको अहिलेको सुधार हेर्ने हो भने धेरै फरक देखिन्छ । केही दिन अझै राम्रो प्रशिक्षण पाएमा उनीहरु पनि उत्कृष्ट हुनेछन् ।”

प्रशिक्षक भट्टले छनोटका विषयमा पछि जवाफ दिने भनिरहँदा महिला भलिबल टोलीको छनोट विवाद यसअघि पनि नआएको भने होइन । प्रायः भलिबल संघ र खेलाडी छनोट समितिले उमेरको हद देखाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्