कांग्रेसमा अनुशासनको संकट: देउवा



यमलाल भुसाल, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको संकट रहेको बताउनुभयो। उहाँले पार्टीका बैठकमा एउटा कुरा गर्ने बाहिर मिडियामा अर्कै कुरा गर्ने, पार्टीको विधानविपरीत बोल्न कसैलाई पनि छुट नभएको भन्दै अनुशासन पालना गर्न सबै नेतालाई आग्रह गर्नुभयो।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार रुपन्देहीको भैरहवामा आयोजित नेपाली कांग्रेस प्रदेश ५का महाधिवेशन प्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीमा गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन जरूरी रहेका आंैल्याउनुभयो।

सभापति देउवाले सबैभन्दा बढी समावेशी पार्टी नेपाली कांग्रेस भए पनि चुनावमा जित हासिल गर्न नसक्ने केवल समावेशीका नाममा चुनाव जितिन्छ भन्ने भावना त्याग्न पनि आग्रह गर्नुभयो। पार्टीको आगामी नेतृत्वतर्फ इंगित गर्दै सभापति देउवाले प्रतिस्पर्धामा आएपछि जसले बढी मत ल्याउँछ उसैले नेतृत्व समाल्ने अवसर पाउने स्पष्ट पार्नुभयो।

सभापति देउवाले वर्तमान दुई तिहाइको दम्भ बोकेको सरकारले गरेका असंवैधानिक कामका विरुद्ध पार्टी एकजुट भएर लाग्न जरूरी रहेको खुलासा गर्नुभयो। सरकार प्रजातन्त्र र लोकतन्त्रलाई समाप्त पार्ने दिशामा उद्दत भएको आरोप लगाउँदै उहाँले संवैधानिक अधिकारलाई कुण्ठित गरेर जनताले पाएका मौलिक अधिकार हनन भइरहेकोमा सरकारको कडा टिप्पणी गर्नुभयो। उहाँले जताततै करैकर लगाएर सरकारले उद्योगी व्यवसायीलाई त्रासमय बनाएको बताउँदै सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना नगर्न आवान गर्नुभयो।

 

हरेक क्षेत्रमा दुई तिहाईको दम्भ बोकेको सरकारले विकास र समृद्धि दिन नसकेको र जनतालाई निरासा बनाएकाले नेपाली कांग्रेसले जनताको मन जितेर जनताको भरोसाको पार्टी बन्नुपर्ने धारणा राख्नुभयो।

 

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनुशासित, मर्यादित र जनताको भरोसाको पार्टीका रूपमा नेपाली कांग्रेसलाई अगाडि बढाउन जरुरी रहेको बताउनुभयो। उहाँले पार्टीभित्र गुट उपगुट र नेतामुखी नभई सच्चा नेपाली कांग्रेस हुनुपर्नेमा जोड दिनुभयो।

हरेक क्षेत्रमा दुई तिहाईको दम्भ बोकेको सरकारले विकास र समृद्धि दिन नसकेको र जनतालाई निरासा बनाएकाले नेपाली कांग्रेसले जनताको मन जितेर जनताको भरोसाको पार्टी बन्नुपर्ने धारणा राख्नुभयो। संवैधानिक र न्यायिक निकायलाई कमजोर बनाउने काममा सरकार लागेको छ भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रको मूल मर्मलाई नै समाप्त पारेर मुलुक अगाडि बढ्न नसक्ने दाबी गर्नुभयो।

पार्टीका उपसभापति विमलेन्द्र निधिले आगामी ३ वर्षपछि हुने निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जनतामाझ जान जरुरी रहेको औंल्याउनुभयो। उहाँले सरकारले संविधान ,संघीयता, समावेशीता र लोकतन्त्रलाई खतरा हुनेगरी काम गरिरहेको टिप्पणी गर्नुभयो। अर्का उपसभापति विजयकुमार गच्छदारले आउदो तीन वर्षपछि हुने निर्वाचनमा नेपाली कांग्रेसलाई मुलुकको पहिलो पार्टी जसले बनाउँछ त्यसैले पार्टीको नेतृत्व समाल्नुपर्ने धारणा राख्नुभयो। त्य

सका लागि नेपाली कांग्रेसमा बलियो एकता जरुरी रहेको पनि उहाँले आंैल्याउनुभयो। नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पार्टीमा नयाँ कार्यक्रमका साथ जनमत सिर्जनातर्फ अगाडि बढ्न जरुरी रहेको धारणा राख्नुभयो।

नेपाली कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले सरकारका काम कारबाही संविधान विरोधी र सर्वसत्तावाद उन्मुख भएको टिप्पणी गर्नुभयो। नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा महिला नेतृ पुष्पा भुसाललगायतले पार्टीलाई बलियो बनाउनेतर्फ नेताहरू गम्भीर हुन जरुरी रहेको औल्याउनुभयो। प्रदेश ५ का १२ जिल्लाबाट सहभागिता रहेको प्रशिक्षण कार्यक्रमा २ दिनसम्म सञ्चालन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्