आत्महत्याको कारण के ?



नेपालमा आत्महत्या ह्वात्तै बढेको छ। कोही पासो लगाउँछन्, कोही नदीमा डुब्छन् त कोही विष पिउँछन्। तर आत्महत्या किन हुन्छ ? के कारणले गर्दा मानिस आत्महत्या गर्ने अवस्थामा पुग्छन् भन्ने कुरा आजसम्म पनि थाहा पाउन सकिएको छैन। समृद्ध संसारमा अस्थायी समस्याको स्थायी समाधानका लागि आत्महत्या हुन्छ भनिन्छ। विपन्न संसारमा यो भनाइको कुनै तुक देखिँदैन।

संसारमा सबैभन्दा बढी आत्महत्याको दर ब्राजिलको दक्षिण भेगमा बस्ने आदिवासीहरूमा देखिएको छ। ब्राजिलको राष्ट्रिय औसतभन्दा त्यहाँ ३४ गुणाले आत्महत्याको दर बढी छ। त्यसपछि अस्ट्रेलियाका आदिवासी र अमेरिका विशेष गरी अलास्का क्षेत्रका आदिवासीहरूमा आत्महत्याको दर बढी रहेको छ। भारतमा प्रतिवर्ष १२ हजार किसानले आत्महत्या गर्ने गरेको तथ्यांक छ।

विकसित देशहरूमा आत्महत्याका कारण मद्यपान, मोटोपन, वितृष्णा, लघुताभास आदि मानिन्छन् भने विकासशील देशहरूमा सामाजिक र आर्थिक संकट, खेती–किसानीले खान नपुग्नु र अरू वैकल्पिक काम नपाउनु, ऋणको भार बढ्दै जानु आदि देखिन्छ। नेपालको कुरा गर्ने हो भने, हिमाल र पहाडको तुलनामा मधेसमा आत्महत्याको दर बढ्दो छ। मधेसमा यो मनोदशाको जिम्मेवार को ?

सदियौंदेखि प्रताडनामा परेको जीवन, ऋणको बोझ, शिक्षाको अभाव, गरिबीको मार, सामाजिक विभेद आदि मात्रै हो त ? समाजशास्त्रीहरूले यो रोगको कारण खोज्नु जरुरी छ। मधेसी राजनीतिक दलका नेताहरूले देशी–विदेशी नेताहरूको तावेदारी गर्नुभन्दा त्यहाँका जनतालाई चेतनशील बनाइँ गरिबी, बेरोजगारी, भ्रष्टाचार, घूसखोरी, विभेद आदिको विरुद्ध खबरदारीका लागि सचेत गराउनु र मानवीय जीवन बाँच्नका लागि आशा जगाउनु आवश्यक देखिन्छ।

– जगन्नाथ अर्याल, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्