कालीगण्डकी सभ्यता देखाउन भूमिगत संग्रहालय

एक लाख शालिग्राम प्रर्दशनमा राखिने



दुर्गाप्रसाद शर्मा, पर्वत ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपुर्ण मानिने कालीगण्डकी नदी किनारको ‘कालीगण्डकी सभ्यता’ प्रर्दशन गर्न सुरुङ्ग भित्र भूमिगत संग्राहलय निर्माण गरिएको छ ।

कालीगण्डकी किनारमा पर्ने बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेमा कालीगण्डकी नदीको सभ्यता देखाउँन सुरुङ्ग भित्र भूमिगत संग्राहलय निर्माण गरिएको हो ।

सुरुङ्गमा उत्तरी मुस्ताङ्गको दामोदर कुण्ड देखि दक्षिणमा नवलपरासीको त्रिबेणी मोक्ष धाम सम्मको कालीगण्डकी नदी किनारको सभ्यता र शालिग्रामको महत्व देखाउने उद्देश्य राखिएको छ । स्वामी ऋषि प्रपन्नाचार्यको परिकल्पना अनुसार करिब चार सय मिटर लामो सुरुङ्ग निर्माण गरिएको छ भने संग्राहलय निर्माणको काम पनि धमाधम भैरहेको छ ।

स्वामी प्रपन्नाचार्यका अनुसार सुरुङ भित्र पसेपछि एकैथलोमा कालीगण्डकी नदी, शालिग्राम र धार्मिक महत्वको बारेमा राम्रोसँग ज्ञान लिन सकिनेछ । त्यस्तै गरी शालिग्राम, शालिग्रामको चक्रका बिषयमा गुरु श्रीधर आचार्यमा धेरै ज्ञान रहेको र उहाँको पृष्ठभुमि, उहाँले प्रकाशित गरेका लेखरचनाको राम्रोसँग अध्ययन गर्न सकिने छ । श्रीधर आचार्यबाटै प्रभावित भएर मुक्तिनाथ र ऋषि गण्डकी र शालिग्रामको महत्व, प्रचार र संरक्षणमा लागेको प्रपन्नाचायको भनाई छ ।

कालीगण्डकी नदीमा पाइने शालिग्राम शिला चोरी निकासी, नदीजन्य पर्दाथको जथाभावी उत्खननका कारणले संकटमा परेका कारण एकै ठाउँमा संरक्षण गर्न सुरुङ्गमा एक लाख शालिग्राम राखिने छ । यस बाहेक नेपाल, भारत, पाकिस्तानलगायत विभिन्न मुलुकमा पाइने नदीका ढुंगा समेत संरक्षण गरिनेछ । ‘हिन्दुहरुले साक्षात भगवान बिष्णुको रुपमा पुजा गर्ने शालिग्राम अहिले कौडीको भरमा खरिद बिक्री भैरहेको छ’ उहाँले भन्नुभयो ‘हामीले नक्क्ली ढुंगालाई देवता मानेर पुज्ने अबस्था आउन नदिन संरक्षण गर्न जरुरी भएको हो ।’

एक बर्षको अवधिमा सुरुङ निर्माणको काम सम्पन्न भएको छ । शालिग्राम राख्नका लागि तयारी गरिएको छ । भुमिगत संग्रहालयमा भगवान बिष्णुको मन्दिरसँगै ध्यानस्थल, झण्डै डेढ जना अट्ने हल निर्माण गरिएको छ । उक्त हलमा बसेर अवलोकनकर्ताको शालिग्राम र कालीगण्डकी नदीको बिषयबस्तुसँग सम्बन्धित फिल्म, डकुमेन्ट्री हेर्न सक्ने शालिग्राम संग्रहालय अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । भुमिगत रुपमा बनेको यो संग्रहालय संसारकै पहिलो हुने पनि प्रपन्नाचार्यको दाबी छ । संग्रहालयमा राख्नका लागि ठाउँ–ठाउँमा अहिले शालिग्राम संकलन गर्ने काम भइरहेको छ ।

सानो आकारको शालिग्रामदेखि पाँच हजार किलोसम्मका शालिग्राम यहाँ राखिने भएको छ । संग्रहालय निर्माणमा हालसम्म चार करोड लागत पुगेको छ । सम्पन्न हुँदा छ करोडसम्म पुग्ने अनुमाग अध्यक्ष प्रपन्नाचार्यको रहेको छ । हालसम्म यो संग्रहालयका लागि संघीय सरकारबाट १३ लाख, बागलुङ नगरपालिकाबाट १० लाख र गण्डकी प्रदेशको उद्योग, पर्यटन बन तथा बाताबरण मन्त्रालयले ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । बाँकी खर्च सबै शुभेच्छुकको सहयोग र चन्दाबाटै हुनेछ । प्रदेशबाट बिनियोजन भएको रकम भु तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतमार्फत खर्च भएको कार्यालय प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्