विकल्प विमानस्थल बन्ने कहिले ?



राजधानी काठमाडौं उपत्यकासँगै जोडिएको काभ्रे जिल्लामा आन्तरिक विमानस्थल निर्माण गर्ने अभियान कहाँ पुग्यो ? पछिल्लो अपडेट पाइएको छैन। विगत १० वर्षदेखि नै यो चर्चा चले पनि काम अघि बढ्न नसकेको विमानस्थलको काम अगाडि बढाउने भनेर निकै चर्चा भयो। त्यो पनि फेरि सेलाएको छ।

काठमाडौं उपत्यकामा रहेको मुलुकको एकमात्रै विमानस्थलले यात्रुको चाप धान्न छोडेको करिब एक दशक भइसकेको छ। आकाश जाम हुने समस्या झन् बढेको छ।

वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्ने क्षमता त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थलको छ। अहिले वार्षिक ८० लाख यात्रुको व्यवस्थापन गर्दै आएको देखिन्छ। यात्रुको चाप हरेक १५ वर्षमा दोब्बर हुने गरेको तथ्यांक पनि देखिन्छ।

विदेशी पर्यटकको वृद्धिदर चालू आर्थिक वर्षकै रफ्तारमा हुने हो भने यात्रुको चाप अबको १० वर्षभन्दा कम समयमै दोब्बर हुने अवस्था छ। बाह्य मात्रै नभएर आन्तरिक उडानको चाप पनि त्यत्तिकै छ। मुलुकका प्रायः सबै मुख्य शहरहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्नुपर्ने बाध्यता छ।

जसका कारण त्रिभुवन विमानस्थलमा हवाई ट्राफिकको समस्या देखिएको छ। यो समस्या समाधान गर्ने एकमात्रै विकल्प भनेको काठमाडौं उपत्यका आसपासमा अर्को विमानस्थल बनाउने र त्यहीँबाट आन्तरिक उडान भर्ने हो।

आन्तरिक उडानका लागि विकल्पको व्यवस्था गर्ने हो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिकको समस्या धेरै हदसम्म समाधान हुने अवस्था छ। यसका लागि विज्ञहरूले डेढ दशकअघि नै सरकारलाई सुझाव दिएका थिए। काभ्रे जिल्लाको नागिडाँडा, ठूलीचौर र चिसापानी क्षेत्रको अध्ययन गरिएको थियो। तर सरकारले खासै चासो नलिएका कारण काम अघि बढ्न सकिरहेको छैन।

अब तत्कालै धमाधम काम अघि बढाउने हो भने पनि निर्माण सम्पन्न हुन पाँच वर्ष लाग्ने जनाइएको छ। पाँच वर्ष भनेको लामो समय हो, त्यतिन्जेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्न सक्ने अवस्था छैन।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि भारतले रुट परमिट दिन आनाकानी गरेका कारण अघि बढ्न सकिरहेको छैन।
त्रिभुवन विमानस्थलको विकल्पमा नजिकै अर्को विमानस्थल नहुँदा कस्तो समस्या आइपर्दो रहेछ भन्ने कुरा तीन वर्षअघि विनाशकारी भूकम्प आउँदा मुलुकले बेहोरिसकेको छ। प्राकृतिक विपत्ति आइपरेको अवस्थामा तत्काल उद्धार तथा राहतका लागि विमानस्थल नै सबैभन्दा उपयुक्त माध्यम हो।

राजधानी काठमाडौं उपत्यकाको जनसंख्या ४० लाख नाघेकोको अवस्थामा विमानस्थलको विकल्प एउटा होइन दुईवटा हुनुपर्छ। काभ्रेका अलावा नुवाकोटमा पनि विमानस्थल निर्माणको तयारी अहिलेदेखि नै गर्दा उपयुक्त हुन्छ। यो विषयमा ध्यान जाओस्।

– रामकुमार थापा, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्