ग्रेड वृद्धि परीक्षाको केन्द्र पायक नभएको गुनासो



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा पनि आजदेखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा एसइइ ग्रेड वृद्धि परीक्षाको केन्द्र अपायक भएको परिक्षार्थीले गुनासो गरेका छन् । जिल्लामा ५ ओटा केन्द्र मार्फत एसइई ग्रेड वृद्धि परीक्षा सञ्चालन भईरहेको भएपनि केन्द्र अपायक हुँदा समस्या भएको परीक्षार्थीहरुले बताएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइले यो बर्षदेखि देहीमाण्डौं र पाटनमा केन्द्र राखेपनि कतिपय ठाउँका विद्यार्थीहरुका लागि अझै केन्द्र अपायक परेको गुनासो आएको हो ।

सुर्नया गाउँपालिकाका ८ का परिक्षार्थी रामबहादुर बोहराले जगदम्बा मावि रानीबुंगा पुग्न निकै कठीन भएको बताउनुभयो । शाहीलेक बसेर बिहान ८ बजे रानीबुंगा पुग्न निकै सकसपूर्ण भएको बोहराको भनाई रहेको छ ।

सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका विद्यार्थीहरुका लागि जगदम्बा मावि रानीबुंगा केन्द्र अपायक परेको परीक्षार्थीहरुले गुनासो गरेका छन् ।

विद्यार्थीहरुले सदरमुकाममा बसेर रानीबुंगा केन्द्रमा पुग्न निकै समस्या हुने गरेको स्थानीय अभिभावक तथा नेपाल तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले बताउनुभयो । सदरमुकाममा खान बस्नको समेत राम्रो व्यवस्था नहुँदा विद्यार्थीहरुलाई धेरै समस्या भएको छ उहाँले भन्नुभया,े“संघीयता आएपछि सबै सेवा सुविधा गाउँमा पुर्याएको दाबी गरेपनि एसइई ग्रेड वृद्धि परीक्षाका लागि सम्बन्धित पालिकाहरुमा व्यवस्थापन गर्न नसक्नु दुखद हो ”

एसइई ग्रेड वृद्धि परीक्षामा सहभागी परीक्षार्थीहरुले अहिले चर्को मूल्य तिरेर बस्नुपरीरहेको विद्यार्थीहरुले बताएका छन् ।
यता शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले भने प्राविधिक कारणले सबै स्थानिय तहमा परिक्षा सञ्चालन गर्न नसकिएको जनाएको छ ।

एसइइ ग्रेड वृद्धि परीक्षा विरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुंगा, निङ्गलाशैनी मावि देहीमाण्डौं र कृष्ण मावि पाटन केन्द्रबाट परिक्षा सञ्चालन भएको हो ।

एसइई ग्रेड वृद्धि परीक्षामा बैतडीमा १ हजार ५३० छात्रा र १ हजार २९२ छात्र गरी २ हजार ८८२ सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्