आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन, धैर्य गर्नुस्ः प्रधानमन्त्री ओली



न्युज अफ नेपाल, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको दिएको जिम्मेवारीबाट सरकार नभाग्ने बताएका छन् । साथै उनले तत्काल आफ्नो सरकार ढल्ने सपना नदेख्न आग्रह पनि गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले केही मानिसहरूले पद जाने भयो भनेर अहिले प्रधानमन्त्री लगालग काँपिरहेको सपना देखिरहेको बताए । उनले भने, ‘पद नगएको मैले कोही देखेको छैन। राजा, महाराजा, बादशाह सबैको पद जान्छ। आगामी निर्वाचनपछि मेरो पनि पद जान्छ त्यतिन्जेल धैर्य गर्न साथीहरूलाई आग्रह गर्छु’ प्रधानमन्त्री ओलीले भने,‘अहिलेको सरकार लगलग काम्यो भन्ने दिवास्वप्न नदेखे हुन्थ्यो।’

यस्तै उनले लोकतन्त्रका लागि आफूहरुको त्याग तपस्या अरुको भन्दा कम नभएको भन्दै उनले सरकार लोकतान्त्रिक भएन अधिनायकवादतर्फ गयो नभन्न सचेत गराए । ‘जनतामा निराशा पैदा गर्ने प्रयास नगर्दा राम्रो हुन्छ’ उनले भनेका छन्, ‘अहिलेको सरकारले लोकतन्त्रलाई सुदृढ गर्नेभन्दा यताउता जान सक्दैन ।’

यसअघि शनिबार पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुर्सी जाने डरले प्रधानमन्त्री थरर काँपिरहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्