बुद्ध विहारलाई १ करोड रूपैया : संस्कृति संरक्षणमा रकमको चिन्ता नलिन मेयर शाक्यको आग्रह



नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि १ करोड रूपैयाँअनुदान दिएको छ।विहार पुनःनिर्माण कार्यलाई तीब्रता दिन महानगरपालिकाले सो रकम उपलब्ध गराएको हो। विभिन्न दाताहरुको सहयोगमा एक वर्ष अघिबाट सो विहारको पुनःनिर्माण भइरहेको छ।

शनिबार राजधानीमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य र कोषाध्यक्ष सुरेश महर्जनलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो।

महानगरपालिकाको नगरसभाले यस अघि उक्त रकम उपलब्ध गराउने प्रस्ताव पारित गरेको थियो। रकम हस्तान्तरण समारोहमा संघीय सांसद्, प्रदेश सांसद् सहित महानगरपालिकाकी उपप्रमुख र विभिन्न वडाका वडाअध्यक्षको उपस्थिति रहेको थियो।

सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आ“गः छेँलगायत सबै सम्पदा आफ्नै कार्यकालमा पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महानगरपालिकाले सम्पदा संरक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहा“ले भन्नुभयो ‘यस कार्यलाई सफल र प्रभावकारी बनाउन सबैको साथ, सहयोग अनिवार्य छ। तपाईहरुको साथ, सहयोग बिना मेयर एक्लैले चाहेर मात्र सोचे अनुरूप काम गर्न सक्दैन।’

प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन आग्रह गर्दै योजना लिएर आएमा महानगरपालिकाले यथोचित सहयोग गर्ने बताउनुभयो।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँभवन निर्माण र नेपाल बौद्ध परियति शिक्षा सञ्चालनलाई पनि चालू आर्थिक वर्षमा यथोचित बजेट विनियोजित गरेको प्रमुख शाक्यले जानकारी दिनुभयो।

सो अवसरमा काठमाडौं क्षेत्र नं ६ का सांसद् एवं पूर्वमन्त्री भिमसेनदास प्रधान, प्रदेश सभा सदस्य जीवन डंगोलले विहार निर्माणको लागि यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्