ओली शक्तिशाली



मधुसूदन रायमाझी, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक समीकरण फेरिएको छ। पार्टी एकीकरण भएको पन्ध्र महिनापछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावले पार्टीभित्रको समीकरण फेरिएको हो। समीकरण फेरिएसँगै पार्टीभित्रको अन्तसंर्घष र अन्तरविरोधहरू पनि बदलिएका छन्।

पार्टी एकीकरण भएपछि गठन गरिएको नौ सदस्यीय सचिवालयमा अध्यक्ष ओली अल्पमतमा रहनुभएको थियो। पार्टीभित्रको सन्तुलन मिलाउनका लागि सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई साथमा लिनुभएका अध्यक्ष ओलीले विभागीय जिम्मेवारी बाँडफाँटमा लिएको रणनीतिले थप बलियो बनाएको छ।

सचिवालयबाट निर्णय गर्नका लागि उहाँलाई बहुमत पुगेको छ। सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभागको प्रमुख बनाउने निर्णयसँगै उपाध्यक्षमा प्रस्ताव गरेपछि नेकपाभित्रको समीकरण यस्तो फेरबदल आएको हो।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली लामो गृहकार्यपछि गौतमलाई आफ्नो पक्षमा ल्याउन सफल हुनुभयो। गौतमले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदा निर्णय प्रक्रियामा ओलीले दबाब झेल्दै आउनुभएको थियो। गत निर्वाचनमा पराजित भएपछि गौतम ओलीसँग असन्तुष्ट रहँदै आउनुभएको थियो।

निर्वाचनमा पराजित भएपछि आपूmले संगठन विभागको प्रमुख पाउनुपर्ने गौतमको माग पूरा गर्दै अध्यक्ष ओलीले उपाध्यक्षको समेत प्रस्ताव गरेपछि नेकपाभित्र नयाँ तरङ्ग पैदा भयो।

सचिवालयमा अध्यक्ष ओलीलाई महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरू गौतम, ईश्वर पोखरेल र बादलको साथ रहेको छ। गौतमले गुट परिवर्तन गरेसँग वरिष्ठ नेता नेपाललाई वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको साथ छ। सचिवालय बैठकमा वरिष्ठताको विवाद चुलिएपछि वरिष्ठ नेता खनालसमेत ओलीलाई साथ दिने पक्षमा देखिनुभएको छ।

पार्टी एकीकरणका बेला वरिष्ठताको आधारमा खनाल पहिलो नम्बरमा भए पनि नेपाललाई पहिलो नम्बरको वरिष्ठ नेता बनाइएको थियो। आफ्नो भूमिकालाई न्यूनीकरण गरिएको भन्दै लिखितरूपमा नै सचिवालय बैठकमा खनालले आफू नै वरिष्ठताको पहिलो नम्बरमा हुनुपर्ने प्रस्ताव दर्ता गराउनुभएको थियो। पार्टी एकीकरण भएको १५ महिनापछि पुनः खनालको प्रस्तावले प्रवेश पाएको छ।

साथै, सचिवालयको बहुमत संख्याले खनाललाई पहिलो नम्बरको वरिष्ठ नेता बनाउने सम्भावना बलियो बन्दै गएको छ। वरिष्ठ नेता खनालले आफू पहिलो वरिष्ठ नेता हुनेमा कुनै शंका नरहकेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मिल्दै नमिल्ने निर्णय गरेर हुन्छ, अब बस्ने सचिवालय बैठकले वरिष्ठताको टुंगो लगाउँछ, म पहिलो नम्बरको वरिष्ठ नेता हुनेमा कुनै शंका नै छैन।’

वरिष्ठ नेतामा आफू पहिलो नम्बर हुनुपर्ने अडान नेपालले राखेपछि शनिबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको छ। नेपालले आफूलाई पहिलो नम्बरकै वरिष्ठ नेता हुनुपर्ने अडान कायमै राख्नुभएको छ। तर अध्यक्ष ओलीले खनाललाई नै पहिलो नम्बरको वरिष्ठ नेता बनाउने आश्वासन दिएको बताइएको छ।

नेता नेपालले खनाललाई पहिलो नम्बरको नेता बनाउने प्रस्तावप्रति आपत्ति जनाउँदै आउनुभएको छ। पार्टीभित्र आफूअनूकुल निर्णय गराउन दबाब दिँदै आउनुभएका नेपाल नेता गौतमले साथ छोडेपछि अल्पमतमा पर्नुभएको छ।

अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गर्नुभएको छ। पार्टीभित्रको महत्त्वपूर्ण विभागको जिम्मेवारी पूर्वएमालेका नेताहरूलाई दिन सफल हुनुभएका अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गर्ने भएकाले पार्टीको नेतृत्व लिन प्रचण्डलाई प्रस्ताव गर्नुभएको छ। पार्टीभित्र आफ्नो आलोचना गर्ने नेताहरूलाई अध्यक्ष ओलीले एकपछि अर्को गर्दै जिम्मेवारी दिने क्रम शुरू गर्नुभएको छ।

पार्टीभित्र ओलीको आलोचकको रूपमा चिनिदै आउनुभएका स्थायी समिति सदस्य योगेश भट्टराईलाई पर्यटनमन्त्री बनाउनुभएका ओलीले गौतमलाई पनि आफ्नो पक्षमा ल्याएपछि थप शक्तिशाली देखिनुभएको छ।

अध्यक्ष ओलीले प्रदेशको पदाधिकारी चयन गर्ने क्रममा वरिष्ठ नेता नेपालबाट निकै ठूलो आलोचना सामना गर्नुपरेको थियो। जिल्लाको अध्यक्ष र सचिवको साथै जिल्ला इन्चार्ज र सह–इन्चार्जमा भने नेपाललाई पनि चित्त बुझाउने गरी निर्णय लिइएको थियो। तर विभागहरुको जिम्मेवारी बाँडफाँडमा आइपुग्दा नेपाल अल्पमतमा पर्नुभएको हो।

नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले सचिवालयले गरेको निर्णय सन्तुलित नभएको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो,‘पार्टीले गरेको निर्णय विधि विधान र पद्दतिअनुसार छैन, योग्यता र क्षमताअनुसारको कार्यविभाजन भएन।’

सोही पार्टीका नेता मणि थापाले भने पार्टीले गरेको कार्यविभाजन सन्तुलित भएको बताउँदै भन्नुभयो,‘समय लागे पनि निर्णय सन्तुलित छ।’ यसअघि पार्टीको सचिवालय र स्थायी समितिमा अल्पमतमा पर्नुभएका ओलीले अब पार्टी कमिटीबाट हुने निर्णयलाई सहज बनाउने गरी शक्ति सन्तुलत मिलाउनुभएको हो।

यसअघि बसेको स्थायी समिति बैठकमा अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन नै पारित नहुने अवस्था सृजना भएको थियो। तर पछिल्लो समयमा ओली अर्का अध्यक्ष प्रचण्डलाई समेत विश्वासमा लिएर आफूअनुकूल निर्णय गराउन सफल देखिनुभयो। यो हिसाबले अब नेकपाको सांगठानिक एकता प्रक्रिया करिब टुंगो लागेको छ।

अर्का अध्यक्ष प्रचण्डले भने आफूले ठूलो त्याग गरेर एकताको काम सम्पन्न गरेको बताउँदै आउनुभएको छ। लामो विवाद र रस्साकस्सीपछि प्रचण्ड आफ्नो कटु आलोचक सचिवालय सदस्य ईश्वर पोखरेललाई स्कुल विभाग प्रमुख दिन तयार हुनुभएको थियो।

प्रचण्डकै प्रस्तावमा गौतमलाई उपाध्यक्ष बनाउने सहमति भएको थियो। गौतमलाई उपाध्यक्ष बनाउन पनि प्रचण्डले नै साथ दिनुभएको थियो। प्रचण्डले पूर्वमाओवादी खेमालाई ३५ देखि ४०, कतिपय स्थानमा ४५ प्रतिशतसम्म हिस्सा लिएर एकीकरणको काम टुंगो लगाउनुभएको छ भने एकीकरण प्रक्रियालाई लम्ब्याएरै भएपनि ओली पार्टीभित्र आपूmअनुकुलको निर्णय गराउन सफल हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्