भेडीगोठमा चट्याङ पर्दा ७० भेडा मरे



म्याग्दी । गएराती शुक्रबार साढे ११ बजेको समयमा भेडीगोठमा चट्याङ पर्दा म्याग्दीमा ७० ओटा भेडा मरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारस्थित खयरलेक क्षेत्रमा रहेको भेडीगोठमा चट्याङ पर्दा भेडा मरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

चट्याङबाट स्थानीय राजेश तिलिजा, मिनबहादुर गुरुङ, दिलबहादुर शेरपुञ्जा, लालविर तिलिजा, तिलविर तिलिजा, यमबहादुर तिलिजा र कमल तिलिजाको संयुक्त लगानीमा रहेको भेडीगोठमा अचानक चट्याङ परेर ७० ओटा भेडा मरेको प्रहरीले जनाएको छ । चट्याङ परेकोसम्बन्धी घटनाबारे जानकारी आएलगत्तै क्षतिको विवरण सङ्कलन गर्नका लागि घटनास्थलतर्फ प्रहरी पठाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।

चट्याङ लागेर घाइते भएका भेडाहरूको सङख्या समेत धेरै भएको हुनसक्ने अनुमान गरिएको छ । जिल्लामा भेडापालनको पकेट क्षेत्र मानिने खयर क्षेत्रमा स्थानीय युवाले एकल तथा सामूहिक लगानीमा भेडापालन गरेका छन् । एउटा भेंडाको मुल्य न्युनतम पाँच हजारदेखि २२ हजारसम्म पर्ने भेडापालक किसानहरु बताउँछन् ।

वर्षौंदेखि भेंडापालन गरिरहेका पाउद्वारका भेडापालक किसानले जनैपूर्णिमा मेला, बडादसैं, तिहारलगायत अन्य चाडपर्वमा सबैभन्दा बढी भेडा बिक्री गर्दै आइरहेका छन् । म्याग्दीको अन्नपूर्णको खोप्रालेक तथा खयरबराह क्षेत्र, रघुगंगा गाउँपालिका अन्तर्गत राखुभगवतीको रुईसे–भेडीओढार, बेनी नगरपालिकाको गाजने, डडुवासहित उच्च हिमाली क्षेत्रमा व्यावसायिक रुपमा भेडापालन गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्