पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ : प्रचण्ड



काठमाण्डौ । शनिबार काठमाण्डौमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकताका लागि कतिपय चित्त नबुझेका कुरामा निर्णय लिनु पर्ने बाध्यता रहेको बताउनुभएको छ । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आयोजना गरेको सो कार्यक्रममा बोल्दै दाहालले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुन्थ्योकी भन्ने अनुभूति हुन थालेको बताउनुभयो ।

नेकपाको सचिवालय बैठकको छलफलपछि कतिपय महत्वपूर्ण निर्णयहरु पार्टी एकता बलियो बनाउनका लागि गरिएको दाहालले बताउनुभएको छ । कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौती दुवै भएको भन्दै उहाँले अहिले केही गर्न नसके इतिहासले धिक्कार्ने बताउनुभयो । यस्तो अवसर सधैँ नआउने बताउदै दाहालले सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै अध्यक्ष दाहालले पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने जनाउदै चिकित्सकले पनि बिरामीलाई बस्तुसँग तुलना नगरी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताउनुभयो । विश्वका स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौती रहेको पनि बताउनुभयो । कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी चिकित्सकहरुले भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा आवश्यक रहेको भन्दै सरकारी नीति प्रष्ट हुनु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्