ईसाई धर्मप्रचार गर्दै हिड्ने ४ पक्राउ



सरिता चलाउने, सल्यानमा । सल्यानईसाई धर्मप्रचार गर्दै हिड्ने  ४ जना पक्राउ परेका छन । जिल्लाभर इसाइ धर्म प्रचार गरिरहेको अबस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ महिला र १ पुरुष रहेका छन । जिल्लाको शारदा नगरपालिका–१ शान्तीनगरमा जवरजस्ती धर्म प्रचार गर्दै हिडेको भन्ने सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी २० वर्षीय तुल बहादुर परियार, सोहि ठाउँ निवासी २१ वर्षीया रुपा सोनाम, घोराही उपमहानगरपालिका–१५ निवासी २९ वर्षीय चन्द्रकली रावत र रोल्पा नगरपालिका वडा नम्वर –६ निवासी ३० वर्षीया भिम कुमारी विक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट एकएक थान बाईबल सहित धर्म प्रचारका विभिन्न सामग्रीहरु समेत बरामद गरेको र पक्राउ परेकाहरुलाई धर्मसम्बन्धी कसुर अन्तरगतको मुद्दा चलाइने प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागी आज जिल्ला अदालत सल्यानमा म्याद थप गरि प्रक्रिया अगाडि बढाईने बताएको छ ।

मुलुकी फौजदारी अनुसार धर्मसम्बन्धी कसुर गर्नेलाइ ५ बर्षसम्म जेल र ५० हजार सम्म जरिवानाको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्