पुल भाचिँदा यात्रुलाई सास्ती



घनश्याम बगाले, नवलपरासी ।
पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डअन्र्तगत अरूणखोला बजारनजिक पुल भाँचिदा दुई दिनदेखि यात्रुले सास्ती झेल्नुपरेको छ।

पुल भाँचिदा चाडबाडका बेला पूर्वपश्चिमको गन्तव्यमा हिँडेका यात्रुले सवारी जाममा परेर जंगल खण्डको बीचबाटोमै भोकभोकै बस्नुपरेको बताएका छन्। बुधबार बिहानै ना६ख ४७१ नम्बरको मालबाहक ट्रकले अरूणखोला पुलको पूर्वी भागमा ठक्कर दिँदा सवारी चल्नै नमिल्ने गरी राजमार्ग अवरुद्ध बनेको हो।

भाचिएको पुल मर्मत गर्न समय लाग्ने भएकाले विकल्पमा पूर्वपश्चिमको यातायात सुचारु गर्न डाइभर्सन निर्माणको कार्य भइरहेको र शुक्रबार बिहानबाट काम चलाउ रूपमा सवारी चल्न थालेको प्रहरीले जनाएको छ।
खोलामा दुईतर्फी सवारी चल्ने गरी डाइभर्सन बनाउने काम भइरहेकाले राजमार्गको पूर्व चोरमार र पश्चिम दुम्किबाससम्म दुवैतर्फ लामो जाम लागेको छ। सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर हरिप्रसाद सुबेदीका अनुसार डाईभर्सनलाई दुई दिनभित्र व्यवस्थित गरी शनिबारदेखिनै पुल मर्मतको काम थालिनेछ।

बेलायतको सहयोगमा बनेका बुटवल नरायणगढ खण्डका पुलहरु जीर्ण बन्दै गएका र अत्यधिक भार वहन क्षमताका ट्रकहरुले बारम्बार ठक्कर दिइरहँदा वर्षेनी सडक अवरोधको समस्या दोहोरिने गरेको छ। यहाँका जयश्री, बौलाहा, लोकाहा, पथ्थरलगायतका खोलामा पटकपटक सवारीकै ठक्करले पुल भाँचिने र यात्रुले हप्तौं सास्ती खेप्ने कार्य भइरहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्